काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि प्रहरीले निगरानी बढाएको उनको सचिवालयले दाबी गरेको छ। प्रहरी नेतृत्व परिवर्तन भएसँगै थापाको गतिविधिमाथि निगरानी सुरु गरिएको सचिवालयका सदस्यहरूको भनाइ छ।
सचिवालयका अनुसार न्यौपाने थरका एक डीएसपीको नेतृत्वमा रहेको प्रहरी टोलीले पछिल्लो चार-पाँच दिनदेखि थापाको गतिविधि निगरानी गरिरहेको छ। उक्त टोलीले उनको निवास, सम्पर्क कार्यालय, पार्टी कार्यालय तथा भेटघाट हुने स्थानहरूमा निगरानी गरिरहेको दाबी गरिएको छ।
यसैबीच, सुरक्षा स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री बालेन्द्र शाहनिकट समूहमा थापालाई पक्राउ गर्ने विषयमा समेत छलफल भइरहेको दाबी गरिएको छ।
कांग्रेस नेताहरूले इनम सापकोटाको बयानका आधारमा सोधपुछ गर्ने बहानामा थापालाई हिरासतमा राख्ने तयारी भइरहेको आशंका व्यक्त गरेका छन्।
सापकोटाको सार्वजनिक अडिओमा कांग्रेसको आधिकारिकता प्राप्त गर्न सभापति थापाले १८ करोड रुपैयाँ खर्च गरेको प्रसंग उल्लेख छ। यद्यपि, उक्त आरोपको सत्यताबारे अहिलेसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।
सम्भावित पक्राउको आशंकाबीच सभापति थापाले बुधबार पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। उनले बिहीबारका लागि पार्टी पदाधिकारी बैठकसमेत बोलाएका छन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी र नेतृत्वविरुद्ध भइरहेका गतिविधिको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका छन्।
त्यस्तै, पार्टीले आधिकारिकतासम्बन्धी विवादमा निष्पक्ष छानबिनको माग गर्दै उपसभापति पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई आवश्यक पहलको जिम्मेवारी दिएको छ।

