काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आईजीपीको बर्खास्तीले प्रहरी संगठनको मनोबल बढाएको हो वा घटाएको भन्दै सरकारसँग जवाफ मागेका छन्।
उनले लेखेका छन्, ‘आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आईजीको नियुक्तिमा बिचौलियाले काम गर्यो कि गरेन ?’
सरकारले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उक्त निर्णयको पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन्।
साम्पाङको पछिल्लो टिप्पणी पनि सरकारको निर्णय र नयाँ नियुक्ति प्रक्रियामाथि उठेको प्रश्नका रूपमा आएको छ।

