रौतहट । विपद्का बेला जोखिम मोलेर नागरिकको उद्धारदेखि अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै मधेश प्रदेश सरकारले प्रहरी निरीक्षक भरत केसीलाई सम्मान गरेको छ।
मौलापुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख रहेका केसीलाई बुधबार जनकपुरस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो। प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले गम्छा ओढाएर उनलाई प्रशंसापत्र प्रदान गरेका थिए।
कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारी र निमित्त प्रदेश सचिव निशा न्यौपानेले पनि संयुक्त रूपमा प्रशंसापत्र हस्तान्तरण गरेका थिए। सम्मानसँगै मन्त्रालयले इलाका प्रहरी कार्यालय मौलापुरलाई कार्यसम्पादन थप प्रभावकारी बनाउन एक थान मोटरसाइकलसमेत उपलब्ध गराएको छ।
विशेषगरी यस वर्ष बागमती र लालबकैया नदीमा आएको बाढी तथा विभिन्न स्थानमा भएको तटबन्ध कटानका क्रममा जोखिमपूर्ण क्षेत्रमा खटिएर स्थानीय नागरिकको जीउधन जोगाउन केसीले निर्वाह गरेको भूमिकाको प्रदेश सरकारले उच्च मूल्याङ्कन गरेको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा मानवीय सहायता परिचालन र सम्भावित जोखिम न्यूनीकरणमा उनले सक्रियता देखाएका थिए।
विपद् व्यवस्थापनसँगै अपराध अनुसन्धान, नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा पनि केसीले व्यावसायिकता र कर्तव्यनिष्ठा प्रदर्शन गरेको मन्त्रालयले जनाएको छ।
प्रशंसापत्रमा प्रहरी सेवामा उच्च व्यावसायिकता, जिम्मेवारीबोध र समर्पणका साथ योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्र र जनताको सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रहरी निरीक्षक तहका अधिकारीलाई प्रदेश मन्त्रालयमै बोलाएर गृह प्रशासन र प्रदेश प्रहरी नेतृत्वको संयुक्त उपस्थितिमा सम्मान गरिएको घटनालाई विशेष महत्त्वका साथ हेरिएको छ।
संघीयता कार्यान्वयनपछि प्रदेश सरकारले प्रहरी निरीक्षकलाई मन्त्रालयमै यसरी सम्मान गरेको सम्भवतः पहिलो घटना भएको बताइएको छ।
सम्मानसँगै प्राप्त मोटरसाइकलले मौलापुर क्षेत्रमा प्रहरी गस्ती, आकस्मिक परिचालन र नागरिक सेवाप्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
प्रदेश सरकारको यो कदमलाई उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीको योगदानको कदर तथा जोखिमका बेला नागरिकको सुरक्षामा खटिने प्रहरी संगठनलाई प्रोत्साहन गर्ने प्रयासका रूपमा हेरिएको छ।

