काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका सचिवालय सल्लाहकार सन्तोष पाण्डेय नियुक्त भएपछि जेनजी अभियन्ता अजय सोडारीले विरोध जनाएका छन्।
सरकारले विधि र प्रक्रिया मिचेर नियुक्ति गरेको आरोप लगाउँदै उनले योग्यताभन्दा पहुँचलाई प्राथमिकता दिइएको भन्दै प्रश्न उठाएका हुन्।
उक्त पदका लागि २०९ जना योग्य नागरिकले विधिपूर्वक आवेदन दिएका थिए। तर, प्रक्रियामा सहभागी नभएका तथा आवेदनसमेत नदिएका पाण्डेय कसरी सदस्य सचिव नियुक्त भए भन्ने प्रश्न सोडारीले उठाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘सरकारले आफैँले बनाएको मेरिटोक्रेसी अथवा खुला प्रतिस्पर्धाको धज्जी उडाएको छ। योग्यहरू लाइनमा बस्ने, पहुँचवालाहरू सिधै भित्रिने यो परिपाटी अझै हटेन ? आहा ! विधिको शासन।’

