वीरगञ्ज । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि राज्यका सुरक्षा तथा प्रशासनिक निकायको ध्यान उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित भइरहेका बेला पर्साका पश्चिमी ग्रामीण क्षेत्रमा पर्ने सीमावर्ती नाकाबाट गाई–भैंसीको अवैध ओसारपसार बढेको आरोप लागेको छ।
स्थानीय स्रोतका अनुसार पर्साको मिर्जापुर, भेडिहरवा, टिहुकी र भलुवहिया नाका हुँदै भारततर्फ तथा भारतबाट नेपालतर्फ दुहुना गाई–भैंसीको अवैध ओसारपसार भइरहेको छ। राज्यका निकायको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित भएको मौका छोपेर सीमावर्ती क्षेत्रमा पशु तस्करी बढेको स्थानीयको दाबी छ।
स्रोतका अनुसार सीमावर्ती खेत, कच्ची तथा वैकल्पिक बाटो प्रयोग गरी रातको समयमा मात्रै नभई दिनमै समेत अनुकूल समय मिलाएर गाई–भैंसी ओसारपसार हुने गरेको छ।
तस्करी बढेको आरोपसँगै सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीको निगरानीमाथि समेत प्रश्न उठेको छ। स्थानीयका अनुसार सुरक्षा निकायको उपस्थितिकै बीच नियमित रूपमा पशु ओसारपसार हुने गरेको दाबी गरिएको छ।
बीओपी प्रमुख कार्कीमाथि मिलोमतोको आरोप
मिर्जापुरस्थित सशस्त्र प्रहरी बल, नेपाल बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नीर कुमार कार्कीमाथि तस्करीमा संलग्न समूहसँग मिलोमतो गरेको गम्भीर आरोप लागेको छ।
स्रोतका अनुसार तस्करीका लागि निश्चित समय र बाटो उपलब्ध गराउने तथा तस्करीको गतिविधि सम्पन्न भएपछि मात्र सम्बन्धित क्षेत्रमा पुग्ने गरेको आरोप कार्कीमाथि लगाइएको छ।
त्यस्तै, तस्करीमा संलग्न व्यक्तिहरूसँग सम्पर्क तथा सूचना आदानप्रदान गर्ने र रकम संकलनका लागि यादव थरका दुई जना स्थानीय व्यक्ति परिचालन गर्ने गरेको दाबीसमेत स्रोतले गरेको छ।
कार्कीले नेपाली मोबाइल नम्बरबाट हुने सम्पर्क अनुसन्धानको दायरामा पर्न सक्ने भन्दै भारतीय सिमकार्ड प्रयोग गर्ने र त्यसैमार्फत तस्करीमा संलग्न व्यक्तिहरूसँग सम्पर्क गर्ने गरेको सूचना प्राप्त भएको स्रोतको दाबी छ।
सशस्त्र प्रहरी निरीक्षकसम्म तस्करीसम्बन्धी सूचना पुगेपछि समेत विभिन्न बहाना बनाएर कारबाहीमा ढिलाइ गर्ने र प्रहरीलाई प्राप्त सूचना तस्कर समूहसम्म पुग्ने गरेको आरोपसमेत स्रोतले लगाएको छ।
किसानका पशु समातेर सक्रियता देखाएको आरोप
स्रोतका अनुसार बीओपीले किसानका गाई–भैंसी नियन्त्रणमा लिएर कारबाही गरेको देखाउँदै आफ्नो सक्रियता प्रस्तुत गर्ने गरेको छ। तर, संगठित रूपमा भइरहेको भनिएको पशु तस्करी नियन्त्रणमा भने प्रभावकारी निगरानी नगरेको आरोप स्थानीयको छ।
स्थानीयले वास्तविक किसानका पशु नियन्त्रणमा लिनुभन्दा सीमाबाट हुने संगठित तस्करी नियन्त्रणमा सुरक्षा निकायले प्राथमिकता दिनुपर्ने बताएका छन्।
‘हेलो सरकार’मा उजुरी परेको दाबी
सशस्त्र प्रहरी निरीक्षक नीर कुमार कार्कीमाथि गाई–भैंसी तस्करीमा मिलोमतो गरेको आरोप लगाउँदै ‘हेलो सरकार’मा समेत उजुरी परेको बताइन्छ।
सशस्त्र प्रहरी स्रोतका अनुसार उजुरीपछि मिर्जापुर बीओपीमा प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा छानबिन टोली पुगेको थियो। तर, छानबिन टोलीले आरोपबारे प्रभावकारी अनुसन्धान नगरी केही मिनेटमै फर्किएको स्रोतको आरोप छ।
यद्यपि, छानबिन टोली किन गएको थियो, टोलीले के–कस्तो अनुसन्धान गर्यो र त्यसको निष्कर्ष के आयो भन्नेबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।
माथिल्लो तहसम्म रकम पुग्ने !
स्रोतबाट भैंसी तस्करीबाट उठाइएको रकम सुरक्षा निकायको माथिल्लो तहसम्म पुग्ने गरेको आरोपसमेत आएको छ। तर रकम कसलाई, कति र कुन माध्यमबाट पुग्ने गरेको हो भन्ने विषयमा हालसम्म कुनै स्वतन्त्र प्रमाण सार्वजनिक भएको छैन।
मिर्जापुर, भेडिहरवा, टिहुकी र भलुवहिया नाकाबाट भइरहेको भनिएको गाई–भैंसी तस्करी तथा बीओपी प्रमुख कार्कीमाथि लागेको मिलोमतोको आरोपबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न स्थानीयले माग गरेका छन्।
स्थानीयले आरोप पुष्टि भएमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने र आरोप पुष्टि नभए सम्बन्धित अधिकारीलाई लागेको आरोपबारे समेत स्पष्ट पारिनुपर्ने बताएका छन्।
