काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले राहत सामग्री वितरण नगरी थन्क्याएको तथा सामग्री सडेर गएको भन्ने आरोप सामाजिक सञ्जालमा फैलिन थालेपछि नेपाल प्रहरीले त्यसको खण्डन गरेको छ।
नेपाल प्रहरीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलिएका यस्ता आरोप तथा अफवाह तथ्यहीन र कपोलकल्पित भएको जनाएको हो।
बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर खटिरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेका अनुसार विपद्मा खटिएका सुरक्षाकर्मीले आफ्नो ज्यानको समेत प्रवाह नगरी नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायतका मानवीय कार्य गरिरहेका छन्।
प्रहरीले नेपाल प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको समेत स्पष्ट पारेको छ।
विपद्को संवेदनशील अवस्थामा सुरक्षाकर्मीमाथि तथ्यहीन आरोप लगाउँदा उनीहरूको मनोबलमा प्रतिकूल असर पर्नुका साथै नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुन सक्ने प्रहरीको भनाइ छ।
त्यस्ता अफवाहले विपद् व्यवस्थापन तथा खोज–उद्धारका संवेदनशील कार्यसमेत प्रभावित हुन सक्ने प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले विपद्का समयमा सुरक्षाकर्मी नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
प्रहरीले विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने तथा नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचनाको प्रचार–प्रसार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
