काठमाडौं । २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा राष्ट्रिय नागरिक अभियानले दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
आन्दोलनको वार्षिक पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको योगदान स्मरण गरिएको थियो। कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।
राष्ट्रिय नागरिक अभियानका संयोजक रविन सिंह बस्नेतले आन्दोलन जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार सरकारले सहिदहरूको सपना साकार पार्न नसकेको बताए।
उनले आगामी दिनमा कुनै पनि नेपाली नागरिकले परिवर्तन र अधिकारका लागि आन्दोलनमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन सरकार गम्भीर बन्नुपर्ने बताए।
देशमा स्थायी शान्ति, सुशासन र राजनीतिक स्थायित्व कायम गर्नुपर्नेमा जोड दिँदै बस्नेतले सरकारलाई खबरदारीसमेत गरे।
