काठमाडौं । भुरुङखेलबाट प्रहरीले ठूलो परिमाणमा अवैध पटका बरामद गरेको छ। प्रहरीले पटका लुकाएर राखेको आरोपमा काभ्रेको बनेपा–१० घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय सुजन कपालीलाई पक्राउ गरेको हो।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार साँझ करिब ५ बजे भुरुङखेलस्थित एक घरको तेस्रो तलामा कपालीले डेरामा राखेको कोठामा खानतलासी गर्दा विभिन्न ब्रान्डका पटका, झिरझिरे, रकेट, चक्कर, इलेक्ट्रिक पटका लगायत ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार बरामद सामग्रीमा रकेट बम, लियोपार्ड किङ, फ्लावर पोट, चक्कर, इलेक्ट्रिक पटका, झिरझिरे, सुलती बम, किङ कोब्रा लगायतका विभिन्न प्रकारका पटका रहेका छन्।
पक्राउ परेका कपालीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको छ।
