रौतहट । एक दिन आएको विनाशकारी बाढीले भौतिक संरचना मात्रै बगाएन, रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिक रामप्रसाद घोषको परिवारको चैन र आशासमेत बगाइदिएको छ।
गत १० भदौमा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि आयोजनाको प्रशासनतर्फ कार्यरत ४२ वर्षीय घोष सम्पर्कविहीन भएका हुन्। उनी बेपत्ता भएको आज १३ दिन पुगिसकेको छ। तर, अहिलेसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।
बाढी आउनुभन्दा एक दिनअघि, ९ भदौ साँझ परिवारसँग भएको कुराकानी नै घोषसँगको अन्तिम सम्पर्क थियो। त्यसपछि परिवारले उनको मोबाइलमा पटक–पटक फोन गरिरहेको छ। तर फोन सम्पर्क हुन सकेको छैन।
‘कतैबाट फोन आउला कि, उताबाट रामप्रसादकै आवाज सुनिएला कि’ भन्ने आशामा परिवारका सदस्यहरू दिनरात मोबाइल हेरेर बसिरहेका छन्। मोबाइलमा बज्ने प्रत्येक घण्टी उनीहरूका लागि रामप्रसाद सकुशल भेटिएको खबरको आशा बनेको छ।
तर १३ दिन बितिसक्दा पनि त्यो प्रतीक्षा पूरा भएको छैन।
रामप्रसादको घरनजिकै भारतको झारखण्डस्थित राँची आसपासको एक गाउँमा रहेको प्रहरी चौकीका सब–इन्स्पेक्टर मनिषकुमार श्रीवास्तवले पनि घोष बाढीपछि सम्पर्कविहीन रहेको बताएका छन्। श्रीवास्तवले घोषको अवस्थाबारे बुझ्न परिवारसँग निरन्तर सम्पर्क गरिरहेको तथा ह्वाट्सएपमार्फत समेत पटक–पटक फोन गर्ने गरेको बताए।
उनका अनुसार ९ भदौ साँझ परिवारसँग कुराकानी भएपछि घोषसँग पुनः सम्पर्क हुन सकेको छैन।
भोटेकोशी बाढीले आयोजनास्थल तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि त्यहाँको भौगोलिक अवस्था थप जोखिमपूर्ण बनेको छ। कठिन भूगोल, क्षतिग्रस्त संरचना तथा खोजी तथा उद्धारमा देखिएका चुनौतीका कारण बेपत्ताको अवस्था पत्ता लगाउन कठिन भइरहेको बताइएको छ।
दिन बित्दै जाँदा घोषको परिवारको बेचैनी पनि बढ्दै गएको छ। प्राकृतिक विपत्तिपछि आफ्ना प्रियजनको कुनै खबर नपाउनु उनीहरूका लागि प्रत्येक दिन लामो प्रतीक्षाजस्तै बनेको छ।
तर परिवारले अझै आशा मारेको छैन।
रामप्रसाद सकुशल भेटिने आशामा परिवारको प्रतीक्षा अझै फोनको घण्टीमै अडिएको छ। खोजी तथा उद्धारमा संलग्न सुरक्षा निकाय, स्थानीयवासी तथा सम्बन्धित सबै पक्षलाई घोषको खोजीलाई प्राथमिकताका साथ अघि बढाइदिन परिवारले भावपूर्ण अपिल गरेको छ।
रामप्रसादको अवस्थाबारे कसैलाई कुनै जानकारी भए परिवार वा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराइदिन आग्रह गरिएको छ।

