काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गरेका छन्।
बाढी प्रभावित नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरेको घटनालाई उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले देशमा आशा जगाएको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै उनले चन्द्रिका श्रेष्ठको उद्धारले खोज तथा उद्धार कार्य अझै निरन्तर र दृढतापूर्वक भइरहेको सन्देश दिएको बताएका छन्।
प्रधानमन्त्री शाहले बाढीका कारण घरबारविहीन भएका तथा आफन्त गुमाएका ज्येष्ठ नागरिकको पीडाप्रति राज्य संवेदनशील रहेको बताएका छन्। उनले प्रभावित ज्येष्ठ नागरिकलाई अस्थायी शिविर तथा विभिन्न आश्रयस्थलमा राखेर राहत, स्वास्थ्य सेवा, ह्वीलचियर, वाकरलगायत आवश्यक सहयोग उपलब्ध गराइएको जानकारी दिएका छन्।
तर प्रधानमन्त्रीको स्ट्याटसको सबैभन्दा महत्वपूर्ण पक्ष भने बाढीपछि पनि जोखिमपूर्ण क्षेत्रमा निरन्तर खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीप्रतिको उनको प्रशंसा हो।
उनले लेखेका छन्, ‘हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रहरूमा खोस्रिरहेका छन्। उहाँहरूका आँखा चनाखा छन्।’
आफ्नो ज्यान जोखिममा राखेर सुरक्षाकर्मीहरू नागरिकको खोज तथा उद्धारमा खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूप्रति हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नुपर्ने बताएका छन्।
‘आफ्नो ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मीहरूप्रति हामीले हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नैपर्छ। उहाँहरूको आत्मबल बढाउनु हाम्रो कर्तव्य हो,’ उनले भनेका छन्।
प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नठान्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन्।
उनले भनेका छन्, ‘हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’
बाढीले घर, खेतबारी, पशुचौपाया र आफन्त गुमाएका नागरिकको पीडा र आक्रोश स्वाभाविक रहेको भन्दै उनले पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी, हियाउने वा थप पीडा दिने कार्य नगर्न पनि आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले बाढीमा ज्यान गुमाएका नागरिकप्रति सामूहिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति राज्यको जिम्मेवारी निरन्तर रहने बताएका छन्।
अन्त्यमा उनले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘आदरणीय आमाबुबाहरू, हामीमाथि भरोसा राख्नुहोस्।’
