विराटनगर । मोरङको विराटनगरमा सार्वजनिक स्थलमा स्कुले छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित सडकमा विद्यालय पोशाक लगाएर हिँडिरहेका दुई युवतीलाई मोटरसाइकलमा सवार दुई पुरुषले अभद्र व्यवहार गरेका थिए।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न आरोपित दुवै जनालाई विराटनगरबाटै पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय महेश कुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद रहेका छन्।
उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
