विराटनगर । जिल्ला कारागार मोरङमा शुक्रबार दिउँसो कैदीबन्दीका दुई पक्षबीच झडप भएको छ।
विराटनगर–८ स्थित कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवादपछि झडप भएको हो। घटनापछि १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए।
उनका अनुसार ‘बी ब्लक’का १९ जनालाई अन्यत्र स्थानान्तरण गरिएको हो।
कैदीबन्दीलाई यातना दिएको तथा रकम असुल गरेको आरोप चौकीदार विशाल निरौला पक्षमाथि लगाएपछि दुई पक्षबीच विवाद बढेर झडपको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ।
यसअघि ‘बी ब्लक’मा प्रहरी प्रवेशमा रोक लगाइएको थियो। शुक्रबार प्रहरीले उक्त ब्लकमा प्रवेश गरेपछि केही कैदीबन्दीले विरोध गर्दै नाराबाजीसमेत गरेका थिए।
प्रहरी प्रमुख कटवालका अनुसार १९ जना कैदीबन्दीलाई बाहिर निकालेर अन्यत्र स्थानान्तरण गरिएपछि कारागारको अवस्था अहिले सामान्य रहेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
