काठमाडौं । नग्न तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर एक महिलाबाट झन्डै १० लाख रुपैयाँ असुलेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका क्षेत्रको सल्यानथान बस्ने कमलबहादुर बुढा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत ती महिलालाई सम्पर्क गरी आफू ‘ह्याकर’ भएको दाबी गरेका थिए। आफूसँग महिलाका नग्न तस्बिर तथा भिडिओ रहेको भन्दै उनले रकम मागेको प्रहरीको भनाइ छ।
रकम नदिए तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ लिएको आरोप छ।
घटनाबारे सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुढालाई पक्राउ गरेको हो।
उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत यस्ता धम्की वा ब्ल्याकमेलिङ भए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
