वीरगन्ज । देशको ध्यान रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र उद्धार तथा राहतमा केन्द्रित भइरहेका बेला वीरगन्जका सीमावर्ती क्षेत्रमा भने प्रहरीकै घुमुवाको संरक्षणमा तस्करी र सर्वसाधारणबाट रकम असुली भइरहेको पाइएको छ।
वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी सहायक हवल्दार विबेक सिंहमाथि घुमुवाको जिम्मेवारीमा रहेर सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दुःख दिने तथा तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्ने गरेको आरोप छ।
स्थानीयकाअनुसार सिंहलाई वडा प्रहरी कार्यालय बिर्ताले क्यूआरटी तथा घुमुवा प्रहरीका रूपमा परिचालन गर्ने गरेको छ। तर, शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका सिंहले आफ्नो पदको दुरुपयोग गर्दै सर्वसाधारणलाई अनावश्यक रूपमा रोक्ने, चेकजाँचका नाममा दुःख दिने र रकम माग्ने गरेको गुनासो बढेको हो।
सिंहले वीरगन्जका छपकैया, इनर्वा, नगवालगायतका सीमावर्ती क्षेत्रमा पुगेर तस्करीमा संलग्न व्यक्तिहरूबाट ‘महिनवारी’ उठाउने गरेको स्थानीयको आरोप छ।
स्थानीयकाअनुसार वीरगन्जको इनर्वा भन्सार, इनर्वा गाउँ तथा नगवा क्षेत्रबाट दैनिकजसो कबाड, मदिरालगायतका सामग्री भारततर्फ जाने गरेको छ। त्यस्तै, भारतको रक्सौललगायतका बजारबाट हार्डवेयर, कपडा, किराना तथा अन्य सामग्री नेपाल भित्रिने गरेको बताइएको छ।
तर, सीमापारिबाट आफ्नो घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारण भने प्रहरीको चेकजाँचका नाममा समस्यामा पर्ने गरेको गुनासो छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार घरायसी प्रयोजनका लागि एक बोरा चामल वा अन्य सामान ल्याउने सर्वसाधारणलाई समेत रोकेर चेकजाँच गर्ने र पैसा नदिए पक्राउ गरी लैजाने तथा थुन्नेसम्मको धम्की दिने गरिएको छ। उनीहरूबाट ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म रकम माग्ने गरेको आरोपसमेत स्थानीयले लगाएका छन्।
यता, सोही नाकाबाट ठूलो परिमाणमा सामान ओसारपसार गर्ने तस्करीमा संलग्न व्यक्तिहरूलाई भने सहज रूपमा आवतजावत गर्न दिइने गरेको छ। एक तस्करले नाम उल्लेख नगर्ने सर्तमा आफूहरूबाट नियमित रूपमा रकम उठाउने गरिएकाले सामान ल्याउँदा रोकतोक कम हुने दाबी गरे।
स्थानीयको दाबीअनुसार घुमुवा प्रहरी सिंह लामो समयदेखि वडा प्रहरी कार्यालय बिर्ता क्षेत्रमा कार्यरत छन्। उनी विगत करिब पाँच वर्षदेखि उक्त कार्यालयअन्तर्गत कार्यरत रहेको र प्रहरी संगठनभित्रका केही उच्च तहका अधिकारीको संरक्षणका कारण पटक–पटक घुमुवाको जिम्मेवारी पाउने गरेका छन्।
सिंहको गतिविधिमाथि प्रहरी संगठनको माथिल्लो तहबाट छानबिन हुनुपर्ने देखिन्छ। विशेषगरी सर्वसाधारणबाट रकम असुली र तस्करीमा संलग्न समूहसँगको कथित साँठगाँठबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने उनीहरूको भनाइ छ।
यस विषयमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीसँग प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा उनले कार्यालयमै आएर कुराकानी गर्न आग्रह गरे। इन्स्पेक्टर सुवेदीकै संरक्षणमा घुमुवा सिंहले काम गर्ने गरेका छन्।
इन्स्पेक्टर सुवेदीको कार्यकाल अझै ४ महिनाजसो बाकी रहदा उनको ध्याउन्न कमाउनतिर मात्र रहेको बताइन्छ।
प्रहरीको घुमुवा टोलीको मुख्य जिम्मेवारी अपराध नियन्त्रण, सूचना संकलन र शान्ति सुरक्षा कायम गर्न सहयोग गर्नु हो। तर, यही जिम्मेवारीमा खटिएका प्रहरीमाथि नै सर्वसाधारणबाट रकम असुली र तस्करी संरक्षणको आरोप लागेपछि सम्बन्धित प्रहरी नेतृत्वले घटनाबारे गम्भीर छानबिन गर्नुपर्ने देखिन्छ।
