काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क जाने भएका छन्। यसपटक प्रधानमन्त्री शाहले आफ्नो भ्रमण टोलीलाई निकै सानो बनाउने तयारी गरेका छन्।
प्रधानमन्त्रीसँगै प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, फोटोग्राफर विनय शाक्य र निजी सचिव प्रदीप परियार मात्रै जाने तयारी रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्री नेतृत्वको टोलीमा परराष्ट्रमन्त्री शिशिर खनालसहित परराष्ट्र मन्त्रालयका सम्बन्धित अधिकारीहरू पनि रहनेछन्।
यसअघि प्रधानमन्त्री शाह महासभामा सहभागी नहुने र परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तयारी थियो।
तर नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको अवस्था अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नुपर्ने दबाब बढेको थियो। त्यसपछि सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा प्रतिनिधिमण्डल न्यूयोर्क पठाउने निर्णय गरेको हो।
महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षति, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिम तथा जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता बारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ।
नेपालले पछिल्लो विपद्का कारण भोग्नुपरेको क्षति र जलवायु परिवर्तनसँग जोडिएको जोखिमबारे अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा आवाज उठाउने तथा आवश्यक अन्तर्राष्ट्रिय सहयोगका लागि पहल गर्ने उद्देश्यले प्रधानमन्त्री शाहको भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
महासभाको ८१औँ सत्र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सुरु हुँदैछ भने उच्चस्तरीय छलफल असोज ६ गतेदेखि हुने कार्यक्रम छ।
