काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाको स्थलगत अवलोकन गरेका छन्।
बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यको अवस्था बुझ्न पुगेका आईजीपी कार्कीले घटनास्थलमा परिचालित प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूले गरिरहेको कार्यबारे जानकारी लिएका थिए।
सो क्रममा उनले जोखिमपूर्ण अवस्थामा समेत खोज तथा उद्धारमा खटिएका प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए। विपद्को समयमा नागरिकको जीवनरक्षा र उद्धारलाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्न समेत उनले निर्देशन दिए।
बाढी प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा नेपाल प्रहरीले खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन तथा अन्य मानवीय कार्यका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। नेपाल प्रहरीका अनुसार प्रभावित क्षेत्रमा ७ हजार ८ सय ९४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
भोटेकोशीमा आएको बाढीले रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेपछि सुरक्षा निकायले निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।
