काठमाडौं । बिचौलिया दीपक भट्टको नेतृत्वमा भएको भनिएको ठूलो आर्थिक अपचलन प्रकरणमा अर्का व्यापारी अमित मोर जेल चलान भएका छन्।
लक्की ग्रुपका सञ्चालक अमित मोरलाई बिहीबार विशेष अदालतले थुनामा पठाउने आदेश दिएको हो। हिमालयन रिइन्स्योरेन्सको सञ्चालक हुँदा संस्थाको रकम हिनामिनासम्बन्धी निर्णयमा संलग्न रहेको आरोपमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मोरलाई थुनामा पठाउने आदेश दिएको हो। यद्यपि न्यायाधीश हेमन्त रावलले भने फरक मत राख्दै एक करोड रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिएका थिए।
मोरसँगै पक्राउ परेका राजीव मोरसँग एक करोड रुपैयाँ, दीपक कुमार श्रेष्ठसँग ५० लाख रुपैयाँ र सुमेर शमशेर जबरासँग २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
यसै प्रकरणमा बिचौलिया दीपक भट्ट, व्यापारी सुलभ अग्रवाललगायत अन्य व्यक्तिहरू यसअघि नै कारागारमा छन्।
विशेष अदालतको आदेशसँगै उक्त आर्थिक अपचलन प्रकरणमा संलग्न भनिएका थप व्यापारीहरू समेत कानुनी कारबाहीको दायरामा तानिएका छन्।
