सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले १९.५१० ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ का १८ वर्षीय समीर सुनार, ३२ वर्षीय दिपेन्द्र बैगार, १५ वर्षीय विशाल गन्दर्भ र १७ वर्षीय नरेश सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक नीरजबहादुर पालको कमाण्डमा खटिएको प्रहरी टोली र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर–११, सुब्बाकुना क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कर्णाली प्रदेश–०२–००१ च ०८७६ नम्बरको स्कर्पियोमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा खैरो हेरोइन फेला परेको थियो।
उनीहरूको साथबाट १९.५१० ग्राम खैरो हेरोइन, एक थान स्कर्पियो गाडी र पाँच थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
