काठमाडौं । बाढीपीडितका लागि सहयोग भन्दै आफ्नै बैंक खाताको क्यूआर कोडमार्फत रकम संकलन गरेको आरोपमा प्रहरीले काठमाडौंको कलंकीबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई बिहीबार काठमाडौं महानगरपालिका–१४, कलंकीबाट नियन्त्रणमा लिइएको हो।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो धनजनको क्षति भएपछि केसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिने भन्दै विभिन्न व्यक्तिलाई आफ्नो व्यक्तिगत बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले केसीलाई कलंकीमा फेला पारेको थियो। प्रहरीले उनलाई सम्झाइ–बुझाइ गरी सोधपुछ गर्न खोज्दा प्रहरी कर्मचारीमाथि नै अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ।
त्यसपछि प्रहरीले केसीलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले केसीलाई अनुसन्धानका लागि सात दिनको म्याद थप गर्न अनुमति दिएको छ।
प्रहरीले विपद् तथा बाढीपीडितका नाममा व्यक्तिगत बैंक खाता वा क्यूआर कोडमार्फत रकम संकलन गर्ने कार्यप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले सहयोग रकम पठाउनुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता यकिन गर्न समेत अनुरोध गरेको छ।
