काठमाडौं । नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन्।
विद्यालयमा गठन भएका विभिन्न क्लबमा आबद्ध विद्यार्थीहरूको सक्रियतामा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक–कर्मचारी तथा अभिभावकबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो।
विद्यार्थीहरूले संकलन गरेको ४७ हजार ८ सय ६० रुपैयाँ, शिक्षक तथा कर्मचारीले एक दिन बराबरको तलबबाट प्रदान गरेको ४२ हजार ९ सय २३ रुपैयाँ र अभिभावकबाट संकलित ५ हजार रुपैयाँ गरी कुल ९५ हजार ७ सय ८३ रुपैयाँ विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको छ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई विभिन्न क्षेत्रबाट सहयोग भइरहेको देखेपछि विद्यार्थीहरूले आफ्नो खाजा खर्च बचाएर सहयोग गर्ने अभियान थालेका थिए।
विद्यार्थीहरूले आफ्नै खाजा खर्चबाट रकम जुटाउनुका साथै शिक्षक–कर्मचारी र अभिभावकलाई समेत सहयोगका लागि आग्रह गरेका थिए। केही अभिभावक विद्यालयमै पुगेर रकम हस्तान्तरण गरेका थिए भने केहीले विभिन्न माध्यमबाट प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।
नेपाल पुलिस स्कुलले नियमित पठनपाठनसँगै विद्यार्थीलाई सुरक्षा, शिक्षा, अनुशासन, सामाजिक व्यवहार तथा मानवीय सहयोगका विषयमा समेत प्रशिक्षण दिँदै आएको छ। यसकै परिणामस्वरूप विद्यार्थीमा विपद्का बेला सहयोग गर्ने र मानवीय सहायता गर्ने भावना विकास भएको समादेशक थापाले बताए।
विद्यालयमा कक्षा १ देखि १० सम्म करिब ७ सय विद्यार्थी तथा ४० जना शिक्षक–कर्मचारी अध्ययन तथा कार्यरत छन्।
विद्यालयले विपद् जोखिम न्यूनीकरण, दुर्घटना न्यूनीकरण, कानुनी तथा सुरक्षा सचेतना र सामाजिक व्यवहारसम्बन्धी विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।
