रौतहट । टिकटकमार्फत फर्निचर बिक्री गर्ने बहानामा ४७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रौतहट प्रहरीले दुई युवकविरुद्ध अनलाइन ठगीसम्बन्धी मुद्दा दर्ता गरेको छ।
आरोपीलाई पक्राउ गरेपछि घटना मिलाउने प्रयास भएको सूचना पाएपछि मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीको निर्देशनमा प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाका २० वर्षीय सुरजप्रसाद यादव र २२ वर्षीय भोलिन्द्रकुमार यादव छन्। जिल्ला अदालत रौतहटले दुवै जनालाई अनुसन्धानका लागि ६ दिनको म्याद दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार करिब एक साताअघि सिरहाको नवराजपुर गाउँपालिका–३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटकमार्फत फर्निचर बिक्री गर्ने भन्दै सम्पर्क गरिएको थियो।
आरोपीहरूले पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाई मोबाइल बैंकिङको पासवर्ड प्राप्त गरेको र त्यसपछि उनको खाताबाट ४७ हजार १९८ रुपैयाँ निकालेको आरोप छ।
बैंक खातासम्बन्धी विवरणका आधारमा आरोपीको ठेगाना पहिचान गरेपछि पीडित मंगलबार इलाका प्रहरी कार्यालय कटहरिया पुगेका थिए। लिखित उजुरीपछि वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहको नेतृत्वमा खटिएको टोलीले सुरज र भोलिन्द्रलाई पक्राउ गरेको थियो।
पक्राउपछि सुरु भयो ‘मिलाउने’ प्रयास
आरोपी पक्राउ परेपछि भने घटनाले नयाँ मोड लिएको प्रहरी स्रोतको दाबी छ।
स्थानीय केही जनप्रतिनिधि तथा बिचौलियाले पीडितलाई रकम फिर्ता गराइदिने भन्दै जाहेरी नदिन सहमत गराउने प्रयास गरेको आरोप छ। पीडितलाई पैसा फिर्ता गराएर घर पठाउने र आरोपीलाई छुटाउने प्रयास भइरहेको सूचना प्रहरीका उच्च अधिकारीसम्म पुगेको बताइएको छ।
त्यसपछि मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई घटनाबारे जानकारी गराइएको थियो।
डीआईजी अधिकारीले आरोपीलाई सहजै उन्मुक्ति नदिन र कानुनी प्रक्रियामार्फत अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रहरीले जनाएको छ।
डीआईजी अधिकारीले स्कुपखबरसँग कुरा गर्दै रकम सानो देखिए पनि यसको पछाडि अन्य व्यक्ति वा संगठित समूहको संलग्नता हुनसक्ने भएकाले घटनालाई गम्भीर रूपमा अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन्।
डीआईजीको निर्देशनपछि प्रहरीले दुवै जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।
४७ हजारको ठगी मात्रै हो कि पछाडि ठूलो सञ्जाल ?
प्रहरीले अहिले घटनालाई केवल दुई व्यक्तिले गरेको सामान्य डिजिटल ठगीका रूपमा मात्रै नहेरेको जनाएको छ।
डिजिटल ठगीमा बैंक खाता, मोबाइल नम्बर, डिजिटल वालेट तथा अन्य माध्यम प्रयोग गर्ने थप व्यक्तिको संलग्नता हुनसक्ने भएकाले प्राविधिक अनुसन्धानलाई महत्वपूर्ण मानिन्छ।
स्थानीयस्तरमा भने कटहरिया क्षेत्रमा यस्ता प्रकृतिका घटना यसअघि पनि हुने गरेको दाबी सुनिन्छ। कतिपय घटनामा ‘अदालतको चक्करमा किन पर्नुहुन्छ, पैसा फिर्ता गराइदिन्छौँ’ भन्दै पीडितलाई जाहेरी नदिन आग्रह वा दबाब दिने गरिएको स्थानीयको गुनासो छ।
यदि रकम फिर्ता गराएर मात्रै घटना टुंग्याउने प्रयास गरियो भने ठगीमा प्रयोग भएको वास्तविक सञ्जालसम्म प्रहरी अनुसन्धान पुग्न नसक्ने जोखिम रहन्छ।
‘जाहेरीसँगै अनुसन्धान अघि बढाउनुपर्छ’
स्थानीयका अनुसार आरोपी पक्राउ गर्नुअघि वा पक्राउसँगै पीडितको लिखित जाहेरी लिएर कानुनी प्रक्रिया अघि बढाउने अभ्यास प्रभावकारी बनाउन आवश्यक छ।
उनीहरूको भनाइमा ‘ठाडो उजुरी’का आधारमा आरोपी पक्राउ गरेपछि पीडितलाई जाहेरी नदिन फकाउने वा घटना मिलाउने प्रयासका लागि समय मिल्न सक्छ। त्यसैले सुरुदेखि नै कानुनी प्रक्रिया अघि बढाउँदा बिचौलियाको चलखेल रोक्न सहज हुने उनीहरूको तर्क छ।
यद्यपि, ठगीसम्बन्धी मुद्दा दर्ता र अनुसन्धानको प्रक्रिया घटनाको प्रकृति, उपलब्ध प्रमाण तथा पीडितको जाहेरीलगायत विषयमा निर्भर गर्छ।
हाल पक्राउ परेका दुवै जना इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा छन्। कार्यालय प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार उनीहरूमाथि सोधपुछ तथा थप अनुसन्धान भइरहेको छ।
घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने देखिएकाले सोही कोणबाट अनुसन्धान अघि बढाइएको डीएसपी आचार्यले बताए।
अब प्रहरी अनुसन्धानले मुख्य प्रश्नको जवाफ दिनेछ- यो ४७ हजार १९८ रुपैयाँको ठगीमा दुई जना मात्रै संलग्न थिए, कि उनीहरूको पछाडि डिजिटल ठगीको ठूलो सञ्जाल सक्रिय छ ?
