धनगढी । कैलालीमा श्रीमतीसँगको प्रेमसम्बन्धमा तगारो बनेपछि एक पुरुषको हत्या गरिएको घटना प्रहरीले गहिरो अनुसन्धानपछि सार्वजनिक गरेको छ।
लम्कीचुहा नगरपालिका–१० का ३४ वर्षीय दीपक सुनार २२ साउन साँझदेखि सम्पर्कविहीन भएका थिए। उनकी श्रीमती यमुना सुनारले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्। त्यसको भोलिपल्ट जानकी गाउँपालिकास्थित अमरावती जंगलमा रगत लतपतिएको मासुको टुक्रा, दाउ, चप्पललगायत सामग्री भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रारम्भमा स्थानीयले उक्त मासु जंगली जनावरको हुनसक्ने आशंका गरे पनि परीक्षण गर्दा मानिसको रगत भएको पुष्टि भयो।
अनुसन्धानकै क्रममा काठमाडौंमा बिदामा रहेका एक प्रहरी अधिकृतलाई उनका चिनजानका व्यक्तिले अमरावती जंगलमा जंगली जनावरको सिकार भएको भन्दै प्रहरीको ध्यान अन्यत्र मोड्ने प्रयास गरेका थिए। उनीहरूले पटक–पटक सोही विषय उठाएपछि प्रहरीलाई शंका लाग्यो।
त्यसपछि दीपककी श्रीमती यमुनाको फोन सम्पर्क र अन्य गतिविधिमाथि अनुसन्धान गर्दा लम्कीचुहाका दुर्योधन सुवर्णकारसँग उनको निरन्तर सम्पर्क रहेको खुलेको थियो। प्रहरीले दुर्योधनलाई धनगढीको एक होटलबाट उनका साथी रामराजेश महतोसहित पक्राउ गर्यो।
अनुसन्धानका क्रममा यमुना, दुर्योधन र रामराजेशको योजनामा दीपकको हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। उनीहरूले दीपकको हत्या गर्न कञ्चनपुर बेलौरीका भीमा राना र वीरेन्द्र रानालाई डेढ लाख रुपैयाँमा सुपारी दिएको खुलेको छ।
प्रहरीका अनुसार हत्यापछि दीपकको शव टुक्राटुक्रा पारेर कर्णाली नदीमा बगाइएको बयान आरोपितहरूले दिएका छन्। शवको खोजी भइरहेको छ।
कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालयको संयुक्त टोलीको गहिरो अनुसन्धानबाट घटना खुलेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
