काठमाडौं । चीनले तिब्बत क्षेत्रमा आएको बाढीले क्षतिग्रस्त राजमार्ग एक सातामै मर्मत गरी सञ्चालनमा ल्याएको छ। गत साता गएको भीषण बाढीले नेपालसँगै तिब्बत क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। केरूङ जोड्ने मुख्य राजमार्ग पनि ध्वस्त बनाएको थियो।
चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार बाढीले क्षतिग्रस्त केरूङ जोड्ने मुख्य राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको हो। राजमार्ग खुलेसँगै ठूला सवारीसाधन र भारी उद्धार उपकरण विपद्को मुख्य क्षेत्रमा पुर्याउन थालिएको सिजिटिएनले लेखेको छ।
चाइना मिडिया ग्रुप (सिएमजी) का अनुसार जि२१६ राष्ट्रिय राजमार्ग खुलेपछि उद्धारकर्मीलाई विपद्को केन्द्रमा थप गहिराइसम्म पुगेर खोजी तथा उद्धार गर्न सहज भएको छ। यसलाई गत बुधबारको विनाशकारी पहिरोपछि उद्धार अभियानमा भएको महत्वपूर्ण प्रगति भनिएको छ।
बरफ–चट्टानसहितको पहिरोमा परी चीनतर्फ १६ जनाको मृत्यु र ५४६ जना अझै सम्पर्कविहीन छन्।
