काठमाडौं । वीरगन्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट नेपाल भित्रिने भारतीय मालवाहक गाडीबाट ट्राफिक प्रहरीले रकम असुल्ने गरेको आरोप लागेको छ। स्रोतका अनुसार आईसीपीबाट दैनिक करिब ३०० वटा भारतीय गाडी नेपालका विभिन्न गन्तव्यतर्फ जाने गरेका छन्।
तीमध्ये अधिकांश ओभरलोड गाडीलाई समेत सहज रूपमा गन्तव्यतर्फ पठाएबापत प्रतिगाडी २ सय भारतीय रुपैयाँसम्म लिने गरिएको दाबी गरिएको छ।
आईसीपीबाट निस्किने अधिकांश भारतीय गाडीमा रासायनिक पदार्थ, मेसिनरी तथा विभिन्न पार्टपुर्जा आउने गर्छन्। क्षमताभन्दा बढी सामान बोकेर आउने त्यस्ता गाडीलाई ट्राफिक प्रहरीले बाटोमा सहजता प्रदान गर्ने गरेको हो। आईसीपीबाट निस्किएका गाडी पथलैया, कलैया हुँदै हेटौंडा तथा पूर्वतर्फ विराटनगरलगायतका क्षेत्रमा जाने गरेका छन्।
स्रोतकाअनुसार यस्तो असुलीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठले करिब दुई–दुई महिनामा ‘सेट’ परिवर्तन गर्ने गरी आलोपालो प्रणाली अपनाउने गरेका छन्। आईसीपीबाट ठूलो गाडी निस्किएपछि भानु यादव लगायतको समूहले सम्बन्धित ट्राफिक प्रहरीलाई ती गाडीको नम्बर तथा विवरणबारे सन्देशमार्फत जानकारी दिने गरेको पाइएको छ।
हाल ट्राफिक प्रहरी पोस्ट ड्राइपोर्ट, पर्साका इन्चार्ज प्रहरी सहायक निरीक्षक चित्रञ्जन शाह छन्। सोही पोस्टलाई सीमावर्ती क्षेत्रमा सबैभन्दा आकर्षक पोस्टमध्ये एकका रूपमा लिने गरिएको र त्यहाँ जान ट्राफिक प्रहरीहरुबीच हानाथाप हुने गर्छ।
त्यस्तै सोही ट्राफिक पोस्टमा कार्यरत प्रहरी सहायक हवल्दार सुवास चौधरी पोशाकमै घुमुवाका रूपमा खटिने गरेको स्रोतले जनाएको छ। आईसीपीबाट निस्किने ठूला गाडीको सूचना ट्राफिक प्रहरीसम्म पुर्याउनेदेखि विभिन्न पोस्टमा चेकजाँच र आवतजावत व्यवस्थापनका क्रममा रकम असुली हुने गरेको आरोप छ।
यस्तो कार्यमा भानु नामको व्यक्ति सक्रिय रहेको बताइन्छ। जसलाई सहायक हवल्दार चौधरीले संरक्षण गरेको आरोप छ।
यता ट्राफिक प्रहरी पोस्ट पावरहाउसमा कार्यरत प्रहरी सहायक हवल्दार लोकबहादुर गुरुङ र प्रहरी जवान अर्जुन भगत सुड्डीमाथि समेत भारतीय सवारी साधनबाट रकम असुली गरेको आरोप लागेको छ।
स्थानीयको गुनासोअनुसार उनीहरूले पावरहाउस चोकमा बसेर भारतीय गाडीका चालकसँग रकम उठाउने गरेका छन्। विशेषगरी खाली भारतीय सवारी साधनलाई ‘नो इन्ट्री’को नाममा रकम माग्ने र प्रहरी जवान सुड्डीले चालकलाई चोकको उत्तरतर्फ रहेको सुर्ती पसलमा रकम राख्न लगाउने गरेको पाइएको छ।
ड्राइपोर्ट र पावरहाउससँगै परवानीपुरस्थित ट्राफिक प्रहरी पोस्टमा समेत यस्तै प्रकृतिका विकृति रहेको स्रोतको दाबी छ। सीमावर्ती नाकाबाट दैनिक ठूलो संख्यामा मालवाहक गाडी आवतजावत गर्ने भएकाले यी क्षेत्रमा ओभरलोड नियन्त्रण र ‘नो इन्ट्री’ व्यवस्थापनका नाममा हुने भनिएको असुलीमाथि प्रश्न उठेको हो।
यता, यी तीनवटै नाकाबाट राजीव, भानु र फुर्तलाल नामका व्यक्तिले बिचौलियाको काम गर्ने गरेका छन्। उनीहरुले मासिक रुपमा ट्राफिक प्रहरीलाई पैसा बुझाउने गरेको स्रोत बताउँछ। त्यस्तै एक स्थानीय श्यामकिशोर यादवले समेत ट्राफिक प्रहरीमा सेटिङ मिलाउने गरेको चर्चा छ।
