कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका बाजुराका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु प्रकरणमा तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालमाथि विभागीय कारबाही गर्न सिफारिस भएको विषय सार्वजनिक भएसँगै पीडित परिवारसँग गरिएको सहमति कार्यान्वयन नभएको विषय पनि बाहिरिएको छ।
सिंहको मृत्यु भएपछि पीडित परिवार र तत्कालीन डीएसपी खनालसहित प्रहरी अधिकारीबीच भएको सहमतिअनुसार मृतककी श्रीमती सुनिता देवी सिंहलाई रोजगारी उपलब्ध गराउने तथा मृतकका बालबालिकालाई माध्यमिक तहसम्मको शिक्षा–दीक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको थियो। तर, उक्त सहमति भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको पीडित परिवारको गुनासो छ।
प्राप्त सहमति पत्रमा मृतककी श्रीमती सुनिता देवी सिंह र प्रहरीतर्फ तत्कालीन डीएसपी लक्ष्मी खनाल, प्रहरी निरीक्षक हरि भट्टराई तथा रेशमलाल पौडेलले हस्ताक्षर गरेका छन्। सहमतिमा लबिन्द्र शाही र सितलापुर सिंह साक्षी तथा रोहबरमा बसेका छन्।
सहमति पत्रमा मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने र उनका बालबच्चालाई दाङस्थित नेपाल पुलिस स्कुल, घोराहीमा माध्यमिक तहसम्म शिक्षा–दीक्षाको व्यवस्थापन गर्ने उल्लेख छ।
तर, प्रहरीकै अधिकारीको उपस्थितिमा लिखित रूपमा गरिएको उक्त सहमति कार्यान्वयन नहुँदा मृतक परिवारमाथि थप पीडा थपिएको आफन्तहरूको गुनासो छ।
‘सहमति गरेर हस्ताक्षर गरियो, तर कार्यान्वयन गरिएन’
पीडित परिवारका आफन्तहरूले प्रहरी अधिकारीकै रोहबरमा गरिएको लिखित सहमति कार्यान्वयन नहुनु दुःखद भएको बताएका छन्। उनीहरूले घटनामा छानबिन गरी प्रहरी अधिकारीमाथि कारबाहीको सिफारिस भए पनि पीडित परिवारलाई दिएको प्रतिबद्धता पूरा गर्नेतर्फ प्रहरी नेतृत्वले चासो नदेखाएको आरोप लगाएका छन्।
‘घटना भएपछि परिवारलाई आश्वासन दिइयो, लिखित सहमति नै गरियो। तर अहिलेसम्म त्यो सहमति कार्यान्वयन भएको छैन। यसले न्यायको आशामा बसेको परिवारलाई झन् पीडा दिएको छ,’ पीडित परिवारका एक आफन्तले भने।
आफन्तहरूले सहमति कार्यान्वयनका लागि पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएको दाबी गरेका छन्। उनीहरूले प्रहरी नेतृत्वले घटनामा संलग्न वा जिम्मेवार देखिएका आफ्ना संगठनका सदस्यलाई कारबाहीको दायरामा ल्याउनुको साटो संरक्षण गरेको आरोपसमेत लगाएका छन्।
कारबाही सिफारिस, तर सहमति कार्यान्वयन कहिले ?
हिरासतमा सिंहको मृत्यु भएको घटनाबारे लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका तत्कालीन प्रमुख एसएसपी सन्तोष सिंह राठौरको नेतृत्वमा गठित चार सदस्यीय छानबिन समितिले अनुसन्धान गरेको थियो।
छानबिनका क्रममा प्रहरीको लापरबाही तथा कमजोरीका कारण हिरासतमा रहेका सिंहको मृत्यु भएको निष्कर्ष निकाल्दै तत्कालीन डीएसपी खनालसहित हिरासत कक्षमा खटिएका प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको बताइएको छ।
छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइसकिएको र त्यसका आधारमा डीएसपी खनालमाथि विभागीय कारबाही प्रक्रिया अघि बढेको स्रोतको दाबी छ।
तर, प्रहरीकै अधिकारीले पीडित परिवारसँग गरेको लिखित सहमति भने कार्यान्वयन नभएको देखिएको छ। जसले ‘प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस त भयो, तर पीडित परिवारसँग गरिएको प्रतिबद्धता कसले पूरा गर्ने?’ भन्ने प्रश्नसमेत उब्जाएको छ।
पीडित परिवारले सहमति तत्काल कार्यान्वयन गरी मृतकका बालबालिकाको शिक्षाको व्यवस्था र मृतककी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन माग गरेको छ।
