काठमाडौं । विराटनगरमा ६० किलो गाँजा बरामद भएको भ्यानबाट ‘दिव्य ज्योति आँखा अस्पताल’को स्टिकर हटाइएको घटनाले प्रहरीको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठाएको छ। सशस्त्र प्रहरीले स्टिकरसहित नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको भ्यान प्रहरीको नियन्त्रणमा पुगेपछि सार्वजनिक तस्बिरमा स्टिकर गायब देखिएपछि प्रमाण मेट्न खोजिएको आशंका गरिएको हो।
भदौ १६ गते मंगलबार राति करिब ११ बजे विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँच गरिरहेको थियो। सो क्रममा को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए।
सशस्त्र प्रहरीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको करिब ६० किलो गाँजा फेला पारेको थियो। बरामद हुँदाका बेला भ्यानमा ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर स्पष्ट रूपमा टाँसिएको थियो।
आवश्यक मुचुल्का तयार पारेर सशस्त्र प्रहरीले भ्यान र गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको थियो। तर नेपाल प्रहरीको नियन्त्रणमा पुगेपछि सार्वजनिक गरिएको भ्यानको तस्बिरमा भने उक्त स्टिकर देखिएन।
सशस्त्र प्रहरीले बुझाउँदा स्टिकर रहेको र नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि सार्वजनिक तस्बिरमा स्टिकर गायब देखिएपछि कसको आदेशमा र किन स्टिकर हटाइयो ? भन्ने प्रश्न उठेको हो। घटनाले प्रमाण नष्ट गर्न खोजिएको हुन सक्ने आशंका समेत जन्माएको छ।
घटनालाई गम्भीर रूपमा लिँदै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रविण घिमिरेसँग २४ घण्टे लिखित स्पष्टीकरण मागेका छन्।
स्टिकर हटाइएको विषयमा कसको संलग्नता छ, कसको निर्देशनमा हटाइयो र त्यसको उद्देश्य के थियो भन्नेबारे स्पष्टीकरण मागिएको हो। एसपी कटवालले घटनाको छानबिन भइरहेको र दोषी देखिए कारबाही गरिने बताएका छन्।
उता, गाँजा बरामद भएको भ्यानमा आफ्नो अस्पतालको नाम जोडिएपछि दिव्य ज्योति आँखा अस्पतालले भने आफ्नो संलग्नता अस्वीकार गरेको छ। अस्पतालले पत्रकार सम्मेलन गर्दै उक्त भ्यान आफ्नो स्वामित्वमा नरहेको दाबी गरेको हो।
अस्पतालका अध्यक्ष देवा यादवले भ्यानमा अस्पतालको नाम लेखिँदैमा उक्त सवारी अस्पतालकै नहुने भन्दै सवारीसँग अस्पतालको कुनै कानुनी वा व्यावसायिक सम्बन्ध नरहेको दाबी गरे। कसैले संस्थाको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले अस्पतालको नाम दुरुपयोग गरेको हुन सक्ने उनको भनाइ छ।
अस्पताल प्रशासनले सवारीको वास्तविक धनी पत्ता लगाएर कानुनी कारबाही गर्न प्रहरीसँग माग गरेको छ।
यता प्रहरीले भने फरार चालकको खोजी तीव्र पारेको छ। अस्पतालको स्टिकर प्रयोग गरेर सुरक्षाकर्मीलाई झुक्याउन खोजिएको हो वा अस्पतालभित्रकै कसैको संलग्नता छ भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित भएको छ।
अब अनुसन्धानले दुईवटा महत्वपूर्ण प्रश्नको जवाफ खोज्नुपर्ने देखिन्छ- ६० किलो गाँजा बोकेको भ्यान वास्तवमा कसको हो ? र सशस्त्र प्रहरीले बरामद गर्दा रहेको अस्पतालको स्टिकर प्रहरीको नियन्त्रणमा पुगेपछि कसरी गायब भयो ?
