काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्मले आफ्नो तलबबाट रकम योगदान गरेर बाढीपीडितका लागि ४० करोड रुपैयाँ सहयोग गर्ने भएका छन्। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाल प्रहरीले पीडित परिवारको राहत तथा उद्धारका लागि यस्तो सहयोग गर्न लागेको हो।
नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीको तहअनुसार निश्चित दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार कार्यालय सहयोगीले दुई दिन, प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मले पाँच दिन, प्रहरी सहायक निरीक्षकदेखि प्रहरी नायब निरीक्षकसम्मले छ दिन तथा प्रहरी वरिष्ठ नायब निरीक्षकले आठ दिनको तलब सहयोग गर्नेछन्।
त्यस्तै प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मले १२ दिन र प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मले १५ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिए।
तलबबाट संकलन हुने रकममध्ये महानिरीक्षक दानबहादुर कार्कीको तर्फबाट मात्रै ३९ हजार ६४५ रुपैयाँ जम्मा हुनेछ। नौ जना प्रहरी अतिरिक्त महानिरीक्षकबाट ३ लाख ५६ हजार ८०५ रुपैयाँ तथा २७ जना प्रहरी नायब महानिरीक्षकबाट ९ लाख ५ हजार १७५ रुपैयाँ जम्मा हुनेछ।
त्यस्तै ७४ जना प्रहरी वरिष्ठ उपरीक्षकबाट २३ लाख ११ हजार २० रुपैयाँ, १७६ जना प्रहरी उपरीक्षकबाट ४० लाख ४८ हजार ७०४ रुपैयाँ, ४१२ जना प्रहरी नायब उपरीक्षकबाट ८८ लाख ३४ हजार ९२८ रुपैयाँ र १ हजार ४०३ जना प्रहरी निरीक्षकबाट २ करोड ६९ लाख ७१ हजार २७२ रुपैयाँ संकलन हुनेछ।
प्रहरी वरिष्ठ नायब निरीक्षकतर्फ १ हजार ३६८ जनाबाट १ करोड ६४ लाख ४८ हजार ८३२ रुपैयाँ तथा २ हजार ७७० जना प्रहरी नायब निरीक्षकबाट २ करोड ११ लाख ५७ हजार २६० रुपैयाँ जम्मा हुनेछ।
यसैगरी ७ हजार २५४ जना प्रहरी सहायक निरीक्षकबाट ५ करोड २४ लाख ४६ हजार ४२० रुपैयाँ, ३ हजार ६६४ जना प्रहरी वरिष्ठ हवल्दारबाट १ करोड ९१ लाख ६२ हजार ७२० रुपैयाँ र १० हजार ७५२ जना प्रहरी हवल्दारबाट ५ करोड ४४ लाख ५ हजार १२० रुपैयाँ संकलन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सबैभन्दा ठूलो योगदान प्रहरी जवानतर्फबाट हुनेछ। ३० हजार ९७६ जना प्रहरी जवानबाट मात्रै १४ करोड ८० लाख ६५ हजार २८० रुपैयाँ संकलन हुनेछ। त्यस्तै १५ हजार ६५ जना प्रहरी सहायक हवल्दारबाट ७ करोड ३३ लाख ६६ हजार ५५० रुपैयाँ र २ हजार ९०४ जना कार्यालय सहयोगीबाट ५२ लाख ६२ हजार ४८ रुपैयाँ जम्मा हुनेछ।
यसरी नेपाल प्रहरीका विभिन्न दर्जाका कर्मचारीबाट कुल ४३ करोड ३७ लाख ८१ हजार ७७९ रुपैयाँ संकलन हुने देखिएको छ।
त्यसमध्ये ४० करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। बाँकी ३ करोड ३७ लाख ८१ हजार ७७९ रुपैयाँ नेपाल प्रहरी कल्याण कोषमा राखिनेछ।
नेपाल प्रहरी कल्याण कोषमा राखिने रकमबाट रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई तत्काल १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ। त्यस्तै बाढीबाट प्रभावित प्रहरी कर्मचारीलाई ५० हजार रुपैयाँका दरले राहत वितरण गर्ने निर्णय पनि गरिएको छ।
यसरी प्रहरी संगठनको माथिल्लो तहका अधिकृतदेखि तल्लो तहमा कार्यरत कार्यालय सहयोगीसम्मको तलबबाट रकम संकलन गरी बाढीपीडितका लागि ठूलो आर्थिक सहयोग जुटाउन लागिएको हो।
