काठमाडौं । रसुवा भोटेकोशी/त्रिशूली बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल प्रति परिवार १० लाख रुपैयाँ विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलित रकमबाट उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले बाढीमा परी सम्पर्कविहीन प्रहरी कर्मचारीहरूको खोजीलाई थप प्रभावकारी बनाउन परिवारसँगको समन्वयमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा, परिवारका इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल गर्ने निर्णय गरिएको छ।
दिवंगत प्रहरीका सन्ततिलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने भएको छ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीलाई व्यक्तिगत सामग्री क्षतिको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ।
यसैगरी, रसुवा बाढीबाट भएको क्षतिमा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल प्रहरीले ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
