बारा । बाराको विश्रामपुर गाउँपालिका–३, मुसहर्वाका ११ वर्षीय बालक राजेशकुमार साहको अपहरणपछि भारतमा हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार राजेशकुमार भदौ ९ गते बिहान करिब ९ बजे घरबाट बेपत्ता भएका थिए। सोही दिन साँझ करिब ७ः५० बजे परिवारले प्रहरी चौकी मुसहर्वामा बालक हराएको सूचना दिएपछि प्रहरीले खोजतलास अघि बढाएको थियो।
खोजीका क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा बालकको शव फेला परेको थियो। मृतककी आमाले भारत पुगेर शवको पहिचान गरेकी थिइन्।
घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बाराले संकलन गरेको सीसीटीभी फुटेज, स्थानीयवासीबाट प्राप्त सूचना तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई विश्रामपुरबाट अपहरण गरी भारत लगेर हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानबाट सोही स्थानका १७ वर्षीय किशोरको घटनामा संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका किशोर नाबालक भएकाले प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन। उनीविरुद्ध अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
