काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ४६ जनाको शव काठमाडौं ल्याएर गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित खाली चौरमा गाडिएको छ।
तत्काल पहिचान हुन नसकेका शवलाई लामो समयसम्म खुला अवस्थामा राख्दा स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै जिल्ला सुरक्षा समितिको बैठकपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको हो।
बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शवमध्ये पहिचान हुन नसकेका तथा आफन्तले दाबी गर्न नआएका शवको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो। शव सड्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमण तथा महामारीको जोखिमसमेत बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायले सुरक्षित रूपमा शव व्यवस्थापन गर्ने निर्णय गरेका हुन्।
दक्षिणढोकास्थित खुला चौरमा गएराति ४६ शव गाडिएको हो। शव व्यवस्थापनका क्रममा आवश्यक कानुनी तथा चिकित्सकीय प्रक्रिया पूरा गरिएको जनाइएको छ।
यसअघि रसुवा बाढीमा परी मृत्यु भएकामध्ये चितवनमा फेला परेका पहिचान नखुलेका शवलाई समेत जिल्ला सुरक्षा समितिको निर्णयपछि जमिनमुनि व्यवस्थापन गरिएको थियो। नदीले बगाएर ल्याएका शवको संख्या बढ्दै गएपछि अस्पताल तथा शवगृहमा राख्ने स्थानको समेत अभाव हुन थालेपछि चितवनमा यस्तो निर्णय गरिएको थियो।
शव गाडिए पनि मृतकको पहिचान खोज्ने प्रक्रिया भने रोकिएको छैन। पहिचान खुल्न सक्ने गरी शवको फोटो, हुलिया, डीएनए नमुना तथा अन्य आवश्यक विवरण सुरक्षित राखिने व्यवस्था गरिएको छ। भविष्यमा आफन्तले दाबी गरेमा वैज्ञानिक परीक्षण तथा अभिलेखका आधारमा पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिनेछ।
रसुवा बाढीले ठूलो मानवीय क्षति पुर्याएपछि अझै कतिपय परिवार आफ्ना आफन्तको खोजीमा छन्। एकातिर बेपत्ताको खोजी जारी छ भने अर्कोतर्फ फेला परेका तर पहिचान हुन नसकेका शवको व्यवस्थापन सुरक्षा निकाय र प्रशासनका लागि अर्को ठूलो चुनौती बनेको छ।
दक्षिणढोकाको खाली चौरमा गाडिएका यी ४६ शव पनि कसैका आफन्त, परिवार र प्रियजन थिए। पहिचान खुल्न नसके पनि उनीहरूलाई बेवारिसे नठानी अभिलेखसहित सुरक्षित रूपमा व्यवस्थापन गरिएको सम्बन्धित निकायले जनाएको छ।
