बारा । वीरगन्ज भन्सार नाकामा सुरक्षा निगरानी र कडाइ बढ्दै गएपछि तस्करीमा संलग्न समूहले सीमावर्ती ग्रामीण नाकालाई वैकल्पिक रुटका रूपमा प्रयोग गर्न थालेको पाइएको छ। बाराको बलिरामपुर–मुसहरवा र छतवा नाका पछिल्लो समय तस्करीका लागि सक्रिय छ।
यी नाकाबाट काजु, छोकडा, चिनी, कपडा तथा अन्य किराना सामग्री मोटरसाइकल र साइकलमार्फत साना–साना पोका तथा बोरामा विभाजन गरेर नेपाल भित्र्याउने गरिएको स्रोत बताउँछ। सामान एकैपटक ठूलो परिमाणमा ल्याउँदा जोखिम बढ्ने भएकाले साना पोका बनाएर दिनरात ओसारपसार गर्ने शैली अपनाइएको हो।
स्थानीय स्रोतका अनुसार भारतबाट ल्याइएका सामान बलिरामपुर–मुसहरवा क्षेत्र हुँदै बाराको जीतपुरसम्म पुर्याउने गरिएको छ। जीतपुरका सरोज भनिने व्यापारीले कपडाको कारोबार सम्हालिरहेको स्रोतको दाबी छ।
प्रहरी गस्ती निस्किँदा कारोबारी ‘गायब’
तस्करीको सबैभन्दा गम्भीर पक्ष प्रहरी गस्तीको सूचना नै कारोबारीसम्म पुग्ने गरेको आरोप हो।
स्रोतका अनुसार प्रहरीको गाडी गस्तीका लागि निस्किनुअघि नै घुमुवा प्रहरीमार्फत सूचना तस्कर समूहसम्म पुग्ने गरेको छ। सूचना पाएपछि कारोबारी र सामान केही समयका लागि लुकाउने र प्रहरी टोली फर्किएपछि पुनः ओसारपसार सुरु गर्ने गरिएको दाबी गरिएको छ।
यसरी प्रहरी गस्ती भइरहेकै देखिए पनि तस्करीको रुट भने २४ सै घण्टा सञ्चालनमा रहने गरेको स्रोतको भनाइ छ।
३० किलोसम्मका पोका बनाएर ‘लाइन’
स्रोतका अनुसार बलिरामपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक मनोज साहको नामसमेत यस विषयमा जोडिएको छ। साना पोका तथा बोरामा करिब ३० किलोसम्मका सामान ल्याउन ‘लाइन’ दिइएको आरोप उनीमाथि छ।
एकैपटक ठूलो परिमाणमा सामान ल्याउँदा सुरक्षा निकायको नजरमा पर्ने भएकाले तस्कर समूहले साना पोका बनाएर पटक–पटक सामान ओसार्ने गरेको बताइएको छ। यही कारण दिनमा समेत र रातिको समयमा समेत तस्करी निरन्तर भइरहेको स्रोत बताउँछ।
यसलाई व्यवस्थापन गर्न प्रहरी सहायक हवल्दार सन्तोष पटेल घुमुवाका रूपमा परिचालित रहेको र उनले कारोबारीसँग समन्वय गर्ने गरेको स्रोतको आरोप छ।
बाराबाट आएको सामान वीरगन्ज हुँदै देशका विभिन्न शहरमा
बाराको ग्रामीण नाकाबाट भित्रिएको सामान स्थानीय बजारमा मात्रै सीमित नरहेको बताइन्छ। वीरगन्ज हुँदै हेटौँडा, नारायणगढ, पोखरा र काठमाडौंसम्म सामान पठाउने गरिएको बताइएको छ।
यसमा पर्साको गण्डक प्रहरी चौकीमा कार्यरत घुमुवा प्रहरी सहायक हवल्दार पिन्टु सिंहको नामसमेत जोडिएको छ। स्रोतका अनुसार बाराबाट वीरगन्जतर्फ आउने तस्करीको सामानलाई गन्तव्यसम्म पुर्याउने क्रममा उनको भूमिका रहने गरेको आरोप छ।
पिन्टु सिंहमाथि यसअघि पनि व्यापारी तथा तस्करीसँग जोडिएको अवैध रकम असुली र तस्करी संरक्षणको आरोपसम्बन्धी समाचार प्रकाशित भइसकेका छन्।
पुरानै रुट, फेरिएको शैली
बलिरामपुर–मुसहरवा क्षेत्र तस्करीका लागि नयाँ भने होइन। नेपाल प्रहरीकै अभिलेखमा यस क्षेत्रमा भारतबाट साइकलमा अवैध सामान ल्याइएको अवस्थामा बरामद भएको विवरण भेटिन्छ।
यसैगरी विगतका विभिन्न रिपोर्टहरूमा बलिरामपुर, मुसहरवा र छतवा नाकाबाट कपडा, किराना, चिनी तथा अन्य सामानको तस्करी हुने गरेको उल्लेख हुँदै आएको छ।
तर अहिले भने ठूलो गाडी वा ठूलो परिमाणको सामानभन्दा साइकल, मोटरसाइकल तथा साना पोका प्रयोग गरेर पटक–पटक सामान ओसार्ने शैली अपनाइएको स्रोतको दाबी छ। यसले प्रहरीको नियमित गस्तीबाट तस्करी नियन्त्रण गर्न थप चुनौती खडा गरेको देखिन्छ।
प्रहरी नेतृत्वको ध्यान कता ?
सीमावर्ती नाकामा तस्करी नियन्त्रणका लागि प्रहरी तथा सशस्त्र प्रहरीको नियमित गस्ती र निगरानी हुने गरे पनि गस्तीको सूचना नै कारोबारीसम्म पुग्ने हो भने नियन्त्रण अभियानको प्रभावकारितामाथि प्रश्न उठ्नु स्वाभाविक हो।
बलिरामपुर–मुसहरवा र छातवा क्षेत्रमा भइरहेको भनिएको तस्करी, प्रहरी गस्तीको सूचना चुहावट तथा प्रहरी कर्मचारीकै संलग्नताको आरोपबारे सम्बन्धित प्रहरी निकायले गम्भीर छानबिन गर्नुपर्ने देखिन्छ।
