पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालबाट हराएको एकदिने नवजात शिशुलाई पर्सा प्रहरीले १६ घण्टाभित्रै सकुशल उद्धार गरेको छ।
नवजात शिशु अस्पतालबाट अनधिकृत रूपमा लगिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पवन भट्टराई आफैं अग्रसर हुँदै विशेष प्रहरी टोली परिचालन गरेका थिए। प्रहरीले सम्भावित स्थान तथा नाकाहरूमा निगरानी बढाउँदै रातभर विशेष खोजी अभियान सञ्चालन गरेको थियो।
प्रहरीको तीव्र खोजीपछि नवजात शिशुलाई सकुशल फेला पारेर परिवारको जिम्मा लगाइएको हो।
घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने आसमहम्मदकी पत्नी २७ वर्षीया सबिना खातुनलाई सोमबार दिउँसो पक्राउ गरिएको छ।
प्रहरीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वा बस्ने रन्जय दासकी पत्नी २७ वर्षीया रिंकु देवीले शनिबार राति ११ बजे नारायणी अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्।
शिशु जन्मिएपछि खातुनले सुत्केरी कुरुवा बसेकी रिंकुकी आफन्त महिलासँग बच्चा खेलाउने बहाना बनाएर नवजात शिशुलाई आफूसँगै लिएर गएकी थिइन्।
सूचना पाएलगत्तै एसपी भट्टराईको नेतृत्वमा प्रहरी टोलीले तत्काल खोजी तीव्र पारेको थियो। १६ घण्टासम्म निरन्तर गरिएको खोजीपछि शिशुलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार शिशुलाई किन लगिएको थियो र घटनामा अन्य व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
