काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ २९ जना नयाँ प्रहरी निरीक्षक थपिएका छन् । खुला प्रतियोगिताबाट उत्तीर्ण भएका उनीहरूलाई नियुक्तिपत्र प्रदान गर्नुका साथै विभागीयतर्फका प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले १६ जना विभागीय प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सुशोभित गरे । सोही अवसरमा खुला प्रतियोगितातर्फ उत्तीर्ण १३ जना प्रहरी निरीक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको थियो ।
नेपाल सरकार, गृह मन्त्रालयले २०८२ मंसिर २६ गते प्रकाशित गरेको विज्ञापनअनुसार सञ्चालन भएको खुला प्रतियोगिताको २०८३ भदौ ६ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १६ र खुलातर्फ १३ गरी २९ जना प्रहरी निरीक्षक उत्तीर्ण भएका थिए ।
गृह मन्त्रालयको सचिवस्तरीय २०८३ भदौ ९ गतेको निर्णयअनुसार उनीहरूलाई भदौ १५ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त गरिएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नवनियुक्त प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै नेपाल प्रहरी संगठनमा स्वागत गरे । उनले उनीहरूले प्रदर्शन गरेको समर्पण, अथक परिश्रम र मेहनतको प्रतिफलस्वरूप सफलता हासिल गरेको बताए ।
प्रहरी महानिरीक्षक कार्कीले आगामी दिनमा संगठनको नीति, निर्देशन, मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै जिम्मेवारी निर्वाह गर्न नवनियुक्त अधिकृतहरूलाई निर्देशन दिए ।
उनले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उच्च व्यावसायिकता, इमानदारी र जिम्मेवारीबोधका साथ काम गर्न आग्रह गर्दै प्रहरी संगठनको श्रीवृद्धिमा योगदान पुग्ने गरी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए ।
