काठमाडौं । सल्यानका २१ वर्षीय आयुष खड्काको सरकारी सेवामा प्रवेश गर्ने सपना छोटो समयमै अधुरै भएको छ। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी खरिदार पदमा सरकारी सेवामा प्रवेश गरेका खड्का पहिलो पोस्टिङमै रसुवाको टिमुरे पुगेका थिए।
तर, सरकारी सेवाको यात्रा सुरु गरेको केही समयमै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोमा परी उनको ज्यान गएको छ।
सल्यानको बागचौर नगरपालिका–१० पिपलनेताका आयुषको पहिलो पोस्टिङ रसुवाको टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन तथा विपद् व्यवस्थापन केन्द्रमा भएको थियो। उनी केही समयअघि मात्रै उक्त कार्यालयमा हाजिर भएका थिए।
स्नातक तहको परीक्षा दिनसमेत रसुवाबाट सल्यान पुगेका आयुष त्यसपछि टिमुरे फर्किएका थिए। भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोले टिमुरेस्थित कार्यालय भवनसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याउँदा उनी सम्पर्कविहीन भएका थिए।
बाढीमा बेपत्ता भएको चार दिनपछि उनको शव चितवनमा फेला परेको थियो। परिवारले भदौ १४ गते शव पहिचान गरेपछि आयुषको मृत्यु भएको पुष्टि भएको थियो। उनको सोमबार चितवनस्थित देवघाटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ।

आयुष कृष्ण खड्का र मुनु खड्काका एकमात्र सुपुत्र थिए। छोराले लोकसेवा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेपछि परिवारमा खुसी छाएको थियो। सरकारी सेवामा राम्रो भविष्य बनाउने आशा परिवारले गरेको थियो। तर, छोराको नयाँ जिम्मेवारी र भविष्यका सपना सुरु भएको केही समयमै आएको विपद्ले परिवारलाई गहिरो शोकमा डुबाएको छ।
टिमुरेको प्लान्ट क्वारेन्टाइन कार्यालयमा कार्यरत आयुषसँगै अन्य कर्मचारी पनि बाढीपछि सम्पर्कविहीन भएका थिए। कार्यालयमा कार्यरत जागेश्वर शर्मा र कार्यालय सहयोगी शिवप्रसाद ढकाल पनि बेपत्ता रहेको विवरण सार्वजनिक भएको थियो। उनीहरू लामो समयदेखि टिमुरेमा कार्यरत थिए र एउटै कार्यालय तथा भान्सामा दैनिकी बिताउँदै आएका थिए।
लोकसेवा उत्तीर्ण गरेर देश सेवामा पाइला टेकेका आयुषको सरकारी सेवाको यात्रा केही समयमै टुंगिएको छ। परिवारले भविष्यका लागि देखेको सपना भने भोटेकोशीको बाढीसँगै कहिल्यै पूरा नहुने गरी बगेको छ।


