काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीमा परी राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र शिक्षकले ज्यान गुमाएका छन् ।
बाढीमा परी रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयका अधिकृत यादव भण्डारी र टिमुरे भन्सारमा कार्यरत प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको मृत्यु भएको छ । उनीहरू दुवैको शव गोरखामा फेला परेको थियो ।
त्यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ निवासी शिक्षक नारायण थापाको शव नवलपरासी पूर्वको देवचुलीमा फेला परेको छ । थापा बेत्रावतीस्थित निलकण्ठ माध्यमिक विद्यालयमा माध्यमिक तहअन्तर्गत अंग्रेजी विषयका शिक्षकका रूपमा कार्यरत थिए ।
भोटेकोशीमा आएको बाढीपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणसमेत सम्पर्कविहीन भएका छन् । गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाका नागरिकहरू अझै परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् ।
लुम्बिनी प्रदेश प्रहरीका अनुसार प्रदेशबाट मात्रै १६८ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहे पनि भौगोलिक कठिनाइ र बाढीपहिरोका कारण सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न चुनौती भइरहेको प्रहरीले जनाएको छ ।
भोटेकोशी बाढीले रसुवा हुँदै विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ भने अझै ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन रहेकाले खोज तथा उद्धारलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको छ ।
