कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान भएको छ ।
पाल्पाको तानसेन नगरपालिका–१० घर भएका ३४ वर्षीय विष्ट इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत थिए । बाढीपछि बेपत्ता भएका उनको शव गोरखामा फेला परेको थियो ।
शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । शनिबार मृतक विष्टका दाजु दीपकबहादुर विष्टले शवको सनाखत गरेका हुन् । पहिचानपछि शव अन्त्येष्टिका लागि परिवारले घर लगेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार रसुवा बाढीपछि विभिन्न जिल्लामा फेला परेका १०२ शव पोखरा ल्याइएको छ । शनिबार साँझसम्म ५० शवको परीक्षण सम्पन्न भएकोमा १२ शवको पहिचान भइसकेको उनले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारजन आउने क्रम बढिरहेको छ । प्रतिष्ठानमा पहिचान सहज बनाउन स्क्रिनमा शवका तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ ।
शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले शव व्यवस्थापनको काम भइरहेको जानकारी दिए ।
