बुटवल । गत चैतको दोस्रो हप्ता रुपन्देहीको बेलहियाबाट १७ ग्राम २४० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परे। पक्राउ पर्नेमा एक जना नेपाली र एक जना भारतीय नागरिक थिए। उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले पक्राउ गरेको थियो।
पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप तीन जनालाई पनि नियन्त्रणमा लियो। थप पक्राउ पर्नेमा एक जना भारतीय र दुई जना नेपाली नागरिक थिए। स्रोतका अनुसार उनीहरूलाई सिद्धार्थनगर नगरपालिका–१, बेलहिया क्षेत्रबाट पक्राउ गरिएको थियो।
पक्राउपछि प्रहरीले घटनास्थल मुचुल्का तयार गरेको थियो। उक्त मुचुल्कामा बरामद पदार्थलाई ब्राउन सुगरकै रूपमा उल्लेख गरिएको थियो। थप अनुसन्धानका लागि सम्बन्धित निकायमा प्रतिवेदन पठाइएको थियो।
पक्राउ परेका पाँचै जनालाई करिब ३,४ दिनसम्म नियन्त्रणमा राखेर अनुसन्धान गरिएको थियो। यसक्रममा उनीहरूको साथबाट बरामद पदार्थ प्रयोगशालामा परीक्षण गर्दा ब्राउन सुगर भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण चन्दले समेत बताएका छन्।
तर, यहीँबाट घटनाले नयाँ मोड लिन्छ।
जसअनुसार रुपन्देही प्रहरी प्रमुख एसपी जनक बहादुर शाहीको निर्देशनमा पक्राउ परेका ५ जनामध्ये तीन जनालाई मुद्दा नै नचलाई छोडिन्छ भने दुई जनालाई अभद्र व्यवहारमा मुद्दा चलाइन्छ।
लागूऔषध बरामद भएको र प्रयोगशाला परीक्षणबाट समेत ब्राउन सुगर पुष्टि भएको भनिएको अवस्थामा पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी अनुसन्धान अघि बढ्नुको सट्टा तीन जनालाई मुद्दा नै नचलाई छाडिएको स्रोतको दाबी छ।
घटनाको अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएका व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाउनुको सट्टा मुद्दा कमजोर बनाउने प्रयास किन भयो?
प्रहरीतर्फबाट मुद्दासम्बन्धी आवश्यक फाइल तयार नभएपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट छाडिएको स्रोतको दाबी छ।
यता, पक्राउ परेका व्यक्तिहरूलाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धानबाट उन्मुक्ति दिन आर्थिक चलखेल भएको आरोपसमेत एसपी शाहीमाथि लागेको छ।
घटनास्थल मुचुल्का तयार गर्ने मुद्दाका प्रहरी सहायक निरीक्षक (सई)लाई त्यसपछि सरुवा गरिएको विषयले समेत घटनालाई थप शंकास्पद बनाएको छ। रुपन्देही प्रहरीले उक्त सरुवा नियमित भएको दाबी गरे पनि लागूऔषध बरामद भएको घटनाको अनुसन्धानसँग जोडेर यसमाथि प्रश्न उठेको छ।
छानबिन समिति बन्यो, कामै भएन ?
घटनाबारे प्रश्न उठेपछि प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको थियो। तर, उक्त समिति गठन भए पनि अहिलेसम्म प्रभावकारी रूपमा काम अघि नबढेको स्रोतको दाबी छ।
स्रोतका अनुसार छानबिन समिति गठन गर्नुको उद्देश्य नै घटनामा जोडिएका प्रहरी अधिकारीलाई जोगाउनेतर्फ केन्द्रित भएको आरोप छ। समिति गठन भएको लामो समय बितिसक्दा समेत छानबिनको निष्कर्ष सार्वजनिक नहुनुले प्रहरी नेतृत्वमाथि थप प्रश्न खडा गरेको छ।
यद्यपि, छानबिन समिति प्रभावहीन बनाइएको वा कसैलाई जोगाउने उद्देश्यले गठन गरिएको भन्ने आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
‘ब्राउन सुगर भएको भए छाड्ने विषयमा हस्ताक्षर गर्दैनौं’
जतिबेला रुपन्देही प्रहरीले भने पक्राउ परेकाहरू अनुसन्धानका क्रममा दोषी नदेखिएपछि कानुनी प्रक्रियाअनुसार छाडिएको दाबी गरेको छ।
सरकारी वकिल कार्यालयका एक अधिकृतले भने लागूऔषध बरामद भएको अवस्थामा आफूहरूले त्यस्ता व्यक्तिलाई छाड्ने विषयमा सहमति नदिएको बताएका छन्।
‘१७ ग्राम २४० मिलिग्राम ब्राउन सुगरसहित मान्छे समातेर यहाँ ल्याएको भए छुटाउने विषयमा हामी हस्ताक्षर नै गर्दैनौं,’ ती अधिकृतले भने।
यसले घटनालाई थप पेचिलो बनाएको छ। एकातिर प्रहरी स्रोतले बरामद पदार्थ ब्राउन सुगर भएको र प्रयोगशाला परीक्षणबाट समेत पुष्टि भएको बताइरहँदा पाँचै जनालाई लागूऔषधसम्बन्धी मुद्दा नै नचलाइ किन छाडियो?
‘म त्यतिबेला विदामा थिएँ’
यस विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्दले अहिले यो मुद्दा दर्ता भएको र अनुसन्धानको क्रममा रहेको बताए ।
‘म त्यतिबेला, अर्थात् मान्छे समातेको समयमा विदामा बसेको भएर धेरै कुरा थाहा भएन,’ डिएसपी चन्दले भने।
उनले पक्राउ परेका व्यक्तिहरूको साथबाट बरामद पदार्थ परीक्षण गर्दा ब्राउन सुगर नै पुष्टि भएको बताए। उनका अनुसार उक्त विषयमा मुद्दा दर्ता भएको र अनुसन्धानसमेत भइरहेको छ।
१७ ग्राम २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको घटनामा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि मुद्दा नै नचलाइएको दाबी र बाँकी दुई जनालाई फरक प्रकृतिको मुद्दामा अघि बढाइएको विषयले रुपन्देही प्रहरीको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
