काठमाडौं । नेपाल प्रहरीभित्र अनुशासन उल्लंघन गर्नेमाथि कारबाही र उत्कृष्ट काम गर्नेलाई पुरस्कार दिने क्रम तीव्र रहेको तथ्यांक सार्वजनिक भएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै डिआइजीदेखि कार्यालय सहयोगीसम्म १ हजार ८४८ जना प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन्।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले सार्वजनिक गरेको विवरणअनुसार विभागीय कारबाहीमा पर्नेमा उच्चदेखि तल्लो तहसम्मका प्रहरी कर्मचारी छन्।
विभागीय कारबाहीमा १ जना डीआईजी, २ एसएसपी, ३ एसपी, ३ डीएसपी र ३ इन्स्पेक्टर परेका छन्। त्यस्तै १७ वरिष्ठ सई, ५२ सई, १३९ असई, ६१ वरिष्ठ हवल्दार, २६२ हवल्दार, ३५६ सहायक हवल्दार, ८६६ जवान र ५३ कार्यालय सहयोगीमाथि पनि विभागीय कारबाही गरिएको छ।
तथ्यांकले प्रहरी संगठनभित्र अनुशासनको विषय उच्च तहदेखि तल्लो तहसम्मै चुनौतीका रूपमा रहेको देखाएको छ। कारबाहीको सूचीमा सबैभन्दा धेरै जवान तहका ८६६ जना छन्। त्यसपछि सहायक हवल्दार ३५६ र हवल्दार २६२ जना कारबाहीमा परेका छन्।
तर, प्रहरी संगठनभित्र अनुशासन उल्लंघन गर्नेमाथि कारबाही मात्रै भएको छैन। उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने क्रम पनि उल्लेख्य देखिएको छ।
प्रहरीका अनुसार सोही आर्थिक वर्षमा १४ हजार ४०६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहित गर्दै संगठनभित्र सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने नीति रहेको प्रहरी नेतृत्वको भनाइ छ।
यसैबीच, आर्थिक वर्ष २०८२/८३ मा १ हजार २६४ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। एकै अवधिमा ठूलो संख्यामा प्रहरी कर्मचारीले संगठनबाट बाहिरिने निर्णय गरेको तथ्यांक पनि प्रहरीभित्र जनशक्ति व्यवस्थापनको अर्को महत्वपूर्ण पक्षका रूपमा देखिएको छ।
नेपाल प्रहरीले अनुशासन, व्यावसायिकता र जवाफदेहितालाई संगठनको प्राथमिकतामा राख्दै आन्तरिक अनुगमनलाई प्रभावकारी बनाउने जनाएको छ। प्रहरी नेतृत्वका अनुसार राम्रो काम गर्ने कर्मचारीलाई सम्मान र प्रोत्साहन तथा अनुशासन उल्लंघन गर्ने कर्मचारीमाथि कारबाहीको प्रक्रियालाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
यसरी हेर्दा एक आर्थिक वर्षमा १ हजार ८४८ प्रहरी कारबाहीमा, १४ हजार ४०६ पुरस्कृत र १ हजार २६४ जनाले राजीनामा दिएको तथ्यांकले नेपाल प्रहरीभित्रको अनुशासन, प्रोत्साहन र जनशक्ति व्यवस्थापनको समग्र अवस्थाको एउटा महत्वपूर्ण तस्वीर प्रस्तुत गरेको छ।

