काठमाडौं । देशभर सुरक्षा व्यवस्था प्रभावकारी बनाउन स्थानीय तह तथा नागरिकबाट नयाँ प्रहरी युनिट स्थापनाको माग बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ९७० ठाउँमा नयाँ प्रहरी युनिट स्थापना गर्न माग भएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माग भएका स्थानमा प्रहरी युनिट स्थापना गर्न मात्रै १७ हजार १ सय जनशक्ति आवश्यक पर्ने जानकारी दिए ।
उनका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा आवश्यकताअनुसार अस्थायी प्रहरी संरचना बनाएर सुरक्षा सेवा दिइँदै आएको छ । प्रहरीले देशभर ७५१ ठाउँमा अस्थायी प्रहरी पोस्ट तथा ६०६ ठाउँमा अस्थायी ट्राफिक प्रहरी पोस्ट सञ्चालनमा ल्याएको छ ।
तर, अस्थायी संरचनाबाट मात्रै बढ्दो सुरक्षा आवश्यकता धान्न चुनौती देखिएको प्रहरीको भनाइ छ । सञ्चालनमा रहेका ४६१ प्रहरी युनिटको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता समेत रहेको डीआईजी काफ्लेले बताए ।
नयाँ प्रहरी युनिट स्थापना तथा हाल सञ्चालनमा रहेका युनिटको स्तर वृद्धि गर्न आवश्यक जनशक्तिको आकलन गर्दा प्रहरीलाई ठूलो संख्यामा थप जनशक्ति आवश्यक पर्ने देखिएको छ ।
डीआईजी काफ्लेका अनुसार नयाँ माग भएका स्थानमा प्रहरी युनिट स्थापना र सञ्चालनमा रहेका युनिटको स्तर वृद्धि गर्न मात्रै कुल २८ हजार ३ सय ८६ प्रहरी जनशक्ति आवश्यक रहेको छ ।
यसले एकातर्फ देशका विभिन्न स्थानमा सुरक्षा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता देखाएको छ भने अर्कोतर्फ आवश्यक जनशक्ति अभावका कारण प्रहरी संरचना विस्तारमा चुनौती रहेको संकेत गरेको छ ।
