काठमाडौं । इलाका प्रहरी कार्यालय बाह्रबिसे, सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण खड्का बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले प्रदान गर्ने २०८३ असार महिनाको “सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)” बाट सम्मानित भएका छन्।
प्रहरी निरीक्षक खड्काले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, अवैध कारोबार नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा उल्लेखनीय कार्यसम्पादन गरेपछि उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
उनको नेतृत्वमा प्रहरीले करिब रु. २ करोड ६९ लाखभन्दा बढी मूल्य बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको थियो। साथै फरार प्रतिवादी पक्राउ, अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी जनचेतनामूलक कार्यक्रम सञ्चालन, विपद् पूर्वतयारी तथा नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न उनले खेलेको भूमिकासमेत मूल्याङ्कनका आधार बनेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना प्रदान गरिने ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ सम्मान यसपटक प्रहरी निरीक्षक खड्कालाई प्रदान गरिएको हो।
