काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवारको हत्या भएको घटनामा प्रहरीले दैलेखका रमेश बुढालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार १ लाख रुपैयाँ चोरी भएपछि उत्पन्न रिसका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रमेश असार ३१ गते पोखराबाट दैलेख जाने क्रममा नयाँ बसपार्क पुगेका थिए। सोही क्रममा सडकमा भेटिएकी निशाले गेस्टहाउसमा जान प्रस्ताव गरेपछि दुवै जना एउटा गेस्टहाउसको कोठामा गएका थिए।
प्रहरीका अनुसार कोठामा पुगेपछि निशाले रमेशलाई नुहाउन आग्रह गरिन्। रमेश बाथरुममा गएको मौका छोपेर उनले बाहिरबाट चुकुल लगाई रमेशको झोलामा रहेको १ लाख रुपैयाँ लिएर फरार भइन्।
रकम चोरी भएपछि रमेशले साथीसँग सम्पर्क गरी रात बिताएका थिए। भोलिपल्ट बसपार्क क्षेत्रमा फेरि निशालाई भेटेपछि उनले आफूलाई नचिनिने गरी मास्क लगाएर अर्को गेस्टहाउसमा लगेका थिए।
प्रहरीका अनुसार दोस्रो पटक गेस्टहाउस पुगेपछि रमेशले चोरी भएको रकमबारे सोध्दा दुवैबीच विवाद भएको थियो। विवाद चर्किएपछि उनले आफ्नै कम्मरको पेटीले निशाको घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्यापछि रमेशले शव पलङभित्र लुकाएर फरार भएका थिए। घटनापछि उनका साथी दानबहादुर शाही पनि सोही कोठामा पुगेका थिए। हालसम्मको अनुसन्धानमा दानबहादुरलाई हत्याबारे जानकारी नभएको देखिएको प्रहरीले जनाएको छ।
साउन ३ गते कोठा सफा गर्न पुगेका गेस्टहाउसका कर्मचारीले दुर्गन्ध महसुस गरेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान अघि बढाउँदै महाराजगञ्जस्थित साम्बाला होटल नजिकबाट रमेशलाई पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
