रौतहट । मधेश प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले व्यापक कारबाही गर्दै आर्थिक वर्ष २०८२/८३ मा झण्डै १३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
नियम कार्यान्वयनमा कडाइ, निरन्तर निगरानी तथा जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण सवारी दुर्घटनाको संख्या बढे पनि दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्षभर ट्राफिक नियम उल्लंघन गर्ने १ लाख १० हजार ७५५ सवारीसाधनमाथि कारबाही गर्दा ११ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ राजस्व संकलन भएको हो।
त्यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत ओभरलोडमा सञ्चालन भएका ८४८ सवारीसाधनलाई कारबाही गर्दा थप १ करोड ५४ लाख ४९ हजार २५७ रुपैयाँ राजस्व उठेको छ। यससँगै प्रदेशभर ट्राफिक कारबाहीबाट कुल झण्डै १२ करोड ७० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
जिल्लागत विवरण हेर्दा पर्सामा सबैभन्दा धेरै १३ हजार ७८९ सवारीसाधन कारबाहीमा परेका छन्। त्यहाँबाट १ करोड ६१ लाख ७१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ।
महोत्तरीबाट १ करोड ४९ लाख ३० हजार ५०२ रुपैयाँ, बाराबाट १ करोड ३२ लाख ७९ हजार ५१ रुपैयाँ, रौतहट र सर्लाहीबाट समान १ करोड १७ लाख ५२ हजार ५०२ रुपैयाँ, सिरहाबाट १ करोड १४ लाख ५६ हजार रुपैयाँ, धनुषाबाट १ करोड ११ लाख ३४ हजार ५० रुपैयाँ तथा सप्तरीबाट ५४ लाख १४ हजार ५५१ रुपैयाँ राजस्व उठेको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले मात्रै १ करोड ७२ लाख ८२ हजार ५३ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
दुर्घटनाको तथ्यांक पनि उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ११ हजार ४१६ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ५३४ जनाले ज्यान गुमाएका छन् भने ठूलो संख्यामा मानिस घाइते भएका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ४४३ दुर्घटनामा ५६४ जनाको मृत्यु भएको थियो। यस आधारमा दुर्घटनाको संख्या बढे पनि मृतकको संख्या ३० ले घटेको देखिएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज न्यौपानेका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न छन्। गत आर्थिक वर्षमा मात्रै ७ हजार ८५१ मोटरसाइकल दुर्घटनामा परेका छन्।
उनका अनुसार मोटरसाइकलको अत्यधिक प्रयोग, तीव्र गति, ट्राफिक नियमको बेवास्ता, हेल्मेट प्रयोगमा लापरवाही, जोखिमपूर्ण ओभरटेक, अनुभवहीन चालक, सवारी चलाउँदा मोबाइल प्रयोग गर्ने बानी, मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्ति तथा वर्षायाममा चिप्लो सडक दुर्घटनाका मुख्य कारण हुन्।
ट्राफिक प्रहरीले कारबाहीसँगै जनचेतनालाई पनि प्राथमिकतामा राखेको जनाएको छ। आर्थिक वर्षभर प्रदेशका विभिन्न स्थानमा २६ हजार ८८३ ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा १४ लाख २४ हजार ८४४ जनाको सहभागिता रहेको प्रहरीको तथ्यांक छ।
ट्राफिक प्रहरीका अनुसार ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन, प्रविधिको प्रयोग र नागरिकस्तरमा बढ्दो सचेतनाका कारण दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन सकारात्मक उपलब्धि हासिल भएको छ।
आगामी दिनमा पनि ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै दुर्घटना न्यूनीकरण र सुरक्षित सडक संस्कृतिको विकासमा विशेष जोड दिइने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
