जनकपुरधाम । धनुषा प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थ र सर्टगनमा प्रयोग हुने तीन राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले लुकाइछिपाइ राखिएको अवस्थामा करिब ०.११० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ तथा सर्टगनमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम र ठेगाना हाल सार्वजनिक गरेको छैन।
बरामद गरिएको पदार्थ लागूऔषध हो वा होइन भन्ने विषयमा विधिवत् परीक्षण गरिने प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा लागूऔषध तथा हतियारसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
