काठमाडौं । फ्रान्सलाई ६–४ ले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ।मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई हराएको हो।
इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे। उनले पहिलो हाफमा दुई गोल गरे भने ८७औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
खेलको तेस्रो मिनेटमै डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि १८औँ मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।
३७औँ मिनेटमा शाकाले गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा उनले अर्को गोल थप्दै इंग्ल्यान्डलाई पहिलो हाफमै ४–० को बलियो अग्रता दिलाए।
दोस्रो हाफमा फ्रान्सले शानदार पुनरागमनको प्रयास गर्यो। ४८औँ मिनेटमा कप्तान किलियन एमबाप्पेले पहिलो गोल फर्काए। त्यसपछि ५४औँ मिनेटमा ब्राडली बारकोलाले तथा ६६औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याए।
तर ८७औँ मिनेटमा प्राप्त पेनाल्टीमा शाकाले गोल गर्दै इंग्ल्यान्डलाई ५–३ को अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गरे पनि त्यसको केहीबेरमै जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए।
सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्डका लागि त्यसयताकै यो उत्कृष्ट नतिजा हो। यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो।
यद्यपि टोली पराजित भए पनि फ्रान्सका कप्तान किलियन एमबाप्पेले नयाँ इतिहास रचे। यस खेलमा दुई गोल गरेसँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बने। एमबाप्पेले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको २१ गोलको कीर्तिमान तोड्दै २२ गोल पुर्याएका हुन्। उनले यो उपलब्धि केवल तीनवटा विश्वकप खेल्दै हासिल गरेका छन्।
जारी विश्वकपमा पनि एमबाप्पे नै गोल्डेन बुट दौडमा अग्रस्थानमा छन्। उनले १० गोल गरेका छन् भने मेस्सीको नाममा ८ गोल छ। मेस्सीले भने फाइनल खेल्न बाँकी रहेकाले गोल्डेन बुटको दौड अझै खुला रहेको छ।
