वीरगञ्ज । भारतसँग खुला सीमा जोडिएको पर्सा जिल्ला तस्करी, लागूऔषध कारोबार, हुण्डी, भन्सार छली तथा अन्य संगठित अपराधका कारण देशकै सबैभन्दा संवेदनशील जिल्लामध्ये एक मानिन्छ। वर्षौंदेखि अवैध कारोबारको प्रमुख ट्रान्जिट बन्दै आएको यो जिल्लामा पछिल्लो समय भने प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनाको तथ्यांकले जिल्ला प्रहरी कार्यालय पर्साले अपराध नियन्त्रण र कानुनी शासन कार्यान्वयनमा प्रभावकारी उपलब्धि हासिल गरेको देखाएको छ।
खुला सीमाको चुनौतीका बीच प्रहरीले गरेको आक्रामक अपरेसनले तस्करी नियन्त्रणदेखि फरार अपराधी पक्राउसम्म उल्लेखनीय सफलता दिलाएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार समीक्षा अवधिमा ६२ करोड ९६ लाख ३२ हजार ६९ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। त्यस्तै, विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका १ हजार २७ जना प्रतिवादी पक्राउ परेका छन्।
उनीहरूमध्ये १७० वर्ष ५ महिना १ दिन बराबरको कैद सजाय कार्यान्वयन हुनुका साथै ८ करोड २६ लाख ३ हजार ७१५ रुपैयाँ जरिवाना समेत असुल गरिएको छ।
भारतसँगको खुला सीमाका कारण पर्सा लामो समयदेखि अवैध आयात–निर्यात, हुण्डी, लागूऔषध ओसारपसार र राजस्व छली गर्ने गिरोहको मुख्य गन्तव्यका रूपमा चिनिँदै आएको छ। यस्ता गतिविधिले राज्यको राजस्वमा ठूलो क्षति पुर्याउनुका साथै संगठित अपराधलाई पनि संरक्षण दिने गरेको सुरक्षा निकायको निष्कर्ष छ।
यही चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले सूचना–आधारित अनुसन्धान, विशेष सुरक्षा अपरेसन, नियमित चेकजाँच र सीमावर्ती क्षेत्रमा निगरानीलाई तीव्र बनाएको जनाएको छ। प्रहरीको दाबीअनुसार यही रणनीतिका कारण अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको हो।
यस अभियानको नेतृत्व गरिरहेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले परम्परागत प्रतिक्रियात्मक प्रहरी शैलीभन्दा फरक ढंगले काम गरिरहेका छन्।
सम्भावित अपराधको पूर्वसूचना संकलन, जोखिम विश्लेषण, संवेदनशील क्षेत्रको पहिचान र योजनाबद्ध परिचालनलाई प्राथमिकता दिएपछि पर्सामा अपराध नियन्त्रणका सूचकहरू सकारात्मक दिशामा अघि बढ्न थालेको प्रहरी अधिकारीहरू बताउँछन्।
विशेषगरी सीमावर्ती क्षेत्रमा कडाइ गरिएपछि तस्करीमा संलग्न गिरोहको गतिविधि प्रभावित भएको र अदालतबाट सजाय तोकेर वर्षौंदेखि फरार रहेकाहरूलाई पक्राउ गर्ने अभियानले समेत तीव्रता पाएको देखिन्छ।
देशकै सबैभन्दा चुनौतीपूर्ण सुरक्षा क्षेत्रमध्ये एक मानिने पर्सामा छोटो अवधिमै देखिएको यो उपलब्धिले एसपी पाठकको नेतृत्व क्षमता र कार्यशैली अहिले प्रहरी संगठनभित्र मात्र होइन, स्थानीय तहमा समेत चर्चाको विषय बन्न थालेको छ।
