काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा सम्पन्न पाँचौँ United Nations Chiefs of Police Summit (UNCOPS) 2026 मा सहभागिता जनाएर नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईजीपी कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले औपचारिक रूपमा स्वागत गरेका थिए।
त्यसैगरी, सशस्त्र आईजीपी पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ सशस्त्र प्रहरी अधिकृतहरूले विमानस्थलमा स्वागत गरेका थिए।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा आयोजित पाँचौँ United Nations Chiefs of Police Summit (UNCOPS) 2026 मा विश्वका विभिन्न मुलुकका प्रहरी संगठनका प्रमुखहरूले शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, आधुनिक प्रहरी व्यवस्थापन तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल तथा अनुभव आदानप्रदान गरेका थिए।
नेपालबाट नेपाल प्रहरीका आईजीपी कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पौडेल नेतृत्वको प्रतिनिधिमण्डल उक्त सम्मेलनमा सहभागी भएको थियो।
