काठमाडौं । जिल्ला काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। प्रहरीका अनुसार उनले आफू गृह मन्त्रालयसँग सम्बन्धित जिम्मेवार अधिकारी भएको परिचय दिँदै विभिन्न प्रहरी कार्यालयमा पहुँच विस्तार गर्न र प्रभाव जमाउन खोजेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफ्नो प्रभाव र पहुँच देखाएर संवेदनशील जानकारी तथा प्रशासनिक गतिविधिमा हस्तक्षेप गर्न खोजेको खुलेको प्रहरीले जनाएको छ।
शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएका सिंहमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र यसमा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
