काठमाडौं । सामाजिक सञ्जालमार्फत सम्प्रदायिक घृणा फैलाउने तथा जातीय सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार “Jiban Oli” नामक फेसबुक पेजमा मधेशी मूलका व्यक्तिलाई दुर्व्यवहार गरिएको भिडियो सामग्री सार्वजनिक गरी सामाजिक सञ्जालमार्फत जातीय तथा साम्प्रदायिक द्वेष फैलाउने प्रयास गरिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उक्त भिडियो सामग्रीले विभिन्न जात, जाति तथा समुदायबीचको आपसी सद्भाव र सामाजिक सम्बन्धमा नकारात्मक असर पार्ने देखिएपछि प्रहरीको विशेष निगरानी तथा अनुसन्धानका क्रममा मिति २०८३ साल असार १२ गते बेलुका करिब ४:४५ बजे जिल्ला रुकुम (पश्चिम) मुसिकोट नगरपालिका वडा नं. ३ माछिमी क्षेत्रबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका वडा नं. ३ निवासी २८ वर्षीय डिल्ली बहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन के.सी. तथा कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ४ शिरसवा घर भई हाल रुकुम (पश्चिम) मुसिकोट नगरपालिका वडा नं. १ सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेका छन्।
प्रहरीले उनीहरूमाथि विद्युतीय कारोबार ऐन तथा सामाजिक सद्भावमा असर पार्ने कसुर अन्तर्गत थप अनुसन्धान अघि बढाइएको जनाएको छ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै जातीय तथा साम्प्रदायिक द्वेष फैलाउने कार्य कानुन विपरीत रहेको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
