चितवन । राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य तथा चितवनका पत्रकार अमिर रामदाम सम्मानित हुनुभएको छ। सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनले बिहीबार आयोजित एक विशेष कार्यक्रममा उहाँलाई पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।
भरतपुर गार्डेन रिसोर्टमा सहकारी संस्थाका अध्यक्ष रूवेन रामुदामुको अध्यक्षतामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पत्रकार रामदामलाई सम्मान गरिएको थियो। कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गत जेठ १८ र १९ गते काठमाडौंको चन्द्रागिरिमा सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ, नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट पत्रकार अमिर रामदाम निर्विरोध रूपमा केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको थियो। उहाँको उक्त सफलताप्रति खुसी व्यक्त गर्दै सहकारीले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।
पत्रकार रामदाम राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ। साथै उहाँ हाल स्वर्ण खबर डटकमका कार्यकारी सम्पादकका रूपमा सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ।
सम्मान ग्रहण गर्दै केन्द्रीय सदस्य रामदामले आफूलाई प्रदान गरिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले सहकारी संस्थाले सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाका हरेक सकारात्मक र रचनात्मक गतिविधिमा आफ्नो साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले पत्रकार रामदामको पत्रकारिता क्षेत्र तथा सामाजिक अभियानमा पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँको आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए। सम्मान कार्यक्रमले पत्रकारिता र सहकारी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
