धनगढी । हालै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर राना को कार्यकालमा प्रहरी कर्मचारीको काज सरुवामा व्यापक आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएको छ।
प्रहरी स्रोतकाअनुसार डीआईजी रानाले प्रशासन शाखामा कार्यरत केही प्रहरी कर्मचारी, घुमुवा प्रहरी र विचौलियासँगको मिलेमतोमा ८ महिनाको अवधिमा ठूलो संख्यामा काज सरुवा गरेका थिए। जनशक्ति व्यवस्थापनको आवश्यकताभन्दा पनि आर्थिक प्रभावका आधारमा सरुवा गरिएको आरोप छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार रानाको कार्यकालमा करिब १३ सय प्रहरी कर्मचारीको काज सरुवा भएको थियो। त्यसमध्ये नियमित सरुवामा गइसकेका कर्मचारीलाई समेत रकमको चलखेलमार्फत पुनः काजमा राख्ने वा अन्यत्र पठाउने काम भएको थियो। यसका कारण डोटी, अछाम, बझाङ, बैतडी र बाजुरालगायत पहाडी जिल्लाका प्रहरी कार्यालयमा जनशक्ति अभावको समस्या देखिएको स्रोतको भनाइ छ।
त्यतिमात्र होइन डीआईजी रानाको कार्यकालमा बिचौलियासँग पहुँच नभएका प्रहरी कर्मचारी मारमा परेको बताइन्छ। उनले सरुवा भइसकेपछि पनि असार १ गते मात्र करिब २ सय ५० जनाको काज सरुवा गरेका थिए।
काज सरुवाका लागि न्यूनतम १० हजारदेखि २० हजार रुपैयाँसम्म असुली हुने गरेको आरोप पनि लगाइएको छ। प्रदेश प्रहरी कार्यालयको प्रशासन फाँटमा कार्यरत केही प्रहरी कर्मचारी र घुमुवा प्रहरीको समेत यसमा संलग्नता रहेको दाबी गरिएको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता अबिनारायण काफ्लेले अस्वाभाविक काज सरुवा, जनशक्ति व्यवस्थापन र आर्थिक लेनदेनसम्बन्धी आरोपबारे गम्भीरतापूर्वक छानबिन गरिने बताएका छन्। छानबिनबाट कुनै कैफियत देखिए कानुनबमोजिम कारबाही गरिने उनले बताए।
हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुख छन् डीआईजी सानुराम भट्टराई। जाँदाजाँदै रानाले अस्वभाविक रुपमा गरेका काज सरुवालाई भट्टराईले निरन्तरता दिन्छन् की बदर गर्छन् ? त्यो हेर्न बाँकी छ।
